खुम्बु पासाङल्हामू : माओवादी केन्द्रका गाउँपालिका कमिटी उपाध्यक्षसहित दर्जन बढी नेता एमालेमा प्रवेश
सोलुखुम्बु । नेकपा एमाले खुम्बु पासाङल्हामू गाउँपालिका कमिटीको प्रथम पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

नेकपा एमाले १ नं. प्रदेश संगठन कमिटी सदस्य एवं राष्ट्रिय सभा सदस्य सोनाम गेल्जेन शेर्पाको प्रमुख आतिथ्यता तथा १ नं. प्रदेश सभा सदस्य एवं संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीको विशेष आतिथ्यमा मंगलबार सम्पन्न बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको स्थानीय गाउँपालिका कमिटी अध्यक्ष लाक्पागेल्जेन शेर्पाले रहस्यखबरलाई बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र खुम्बु पासाङल्हामू गाउँपालिका कमिटीका उपाध्यक्ष मिनाफुटी शेर्पा, सचिव दुर्जा बहादुर राई,सदस्य ङिमदोर्जी तामाङ, सदस्य एवं स्थानीय तह निर्वाचन २०७४ मा गाउँपालिका अध्यक्षका उम्मेदवार ईश्वरी थापा मगर, नेपाली काँग्रेस क्षेत्रीय समिति सदस्य गरादोर्जी शेर्पा, हेमराज राई र मदन राई नेकपा (एमाले) प्रवेश गरेको अध्यक्ष शेर्पाले जानकारी दिए।
नवप्रवेशीहरुलाई राष्ट्रिय सभा सदस्य शेर्पा र प्रमुख सचेतक राजभण्डारी लगायत गाउँपालिका कमिटीका अन्य नेताहरुले स्वागत गरेका थिए।

