नवज्योति महिला समूहले मनायो ११६ औं अन्तर्राष्ट्रिय नारी दिवस
खगिन्द्र राज बास्तोला,२५ फागुन । नवज्योति महिला समूह नेचासल्यान-२ को आयोजना तथा नेचासल्यान गाउँपालिकाको प्रायोजनमा वी.पी. संस्कृत माविको प्राङ्गणमा ११६ औं अन्तर्राष्ट्रिय नारी दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।

प्रतियोगितात्मक र अप्रतियोगितात्मक गरी विभिन्न मनोरञ्जनात्मक कार्यक्रमकासाथ सो दिवस सोमबार मनाइएको हो । प्रतियोगितात्मक कार्यक्रम अन्तर्गत ‘नेचासल्यान गाउँपालिकालाई समृद्ध बनाउन महिलाको भूमिका’शीर्षकमा खुला महिला कविता वाचन प्रतियोगिता सञ्चालन गरिएको थियो।जसमा नानी मैया आचार्य प्रथम,टीका श्रेष्ठ द्वितीय,नेलिदा राई तृतीय र बोमारानी सान्त्वना भएका थिए ।प्रतियोगिताका विजयी प्रतियोगीहरुलाई क्रमशः नगद रु दुई हजार, एक हजार पाँच सय, एक हजार र पाँच सयका साथमा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा ११ जनाको सहभागिता रहेको थियो।
त्यसैगरी अर्को प्रतियोगिता ‘महिला सशक्तीकरण र समानताको आधार’ शीर्षकमा खुला महिला वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको थियो । ६ जना प्रतियोगीको सहभागिता रहेको उक्त कार्यक्रममा रमिला कार्की प्रथम,बोमारानी राई द्वितीय,अन्जु दाहाल तृतीय र रत्ना राईले सान्त्वना स्थान हासिल गरेका थिए।
प्रतियोगितामा स्थान ओगट्न सफल प्रतियोगिहरुलाई क्रमश: नगद रु. तीन हजार, दुई हजार पाँच सय,एक हजार र पाँच सयका साथमा प्रमाणपत्र प्रदान गरिएको महिला समूहका अध्यक्ष सरस्वती कार्कीले बताइन् ।
यसैबीच नारी दिवस कार्यक्रममा सञ्चालन गरिएको शो नृत्यमा रविका बस्नेत,सरिता नेपाली,प्रतीक्षा राई सहभागी भएका थिए।
अर्को प्रतियोगिता म्युजिकल चियर रहेको थियो । अत्यन्तै रमाइलो गरी खेलिएको यस प्रतियोगितामा रमिला कार्की प्रथम, एकराज बास्तोला द्वितीय,सरिता नेपाली तृतीय र देवराज बास्तोलाले सान्त्वना स्थान हासिल गरेका थिए । स्थान हासिल गर्न सफल प्रतियोगीहरुलाई आकर्षक पुरस्कार प्रदान गरिएको थियो।
नारी दिवस कार्यक्रम गाउँ शिक्षा समिति नेचासल्यानका सदस्य पुण्यप्रसाद निरौला,पूर्व वडा अध्यक्ष भेषकुमार बास्तोला,समाजसेवी व्यकित्व कृष्ण गौतम, श्री सिंहकाली माविका प्रधानाध्यापक राममणि ढुंगाना, नेचा सल्यान गाउँपालिका अधिकृत सुजन खनाल,शिक्षा अधिकृत माधवमणि ढुंगाना लगायतको विशेष उपस्थिति,नेचासल्यान गाउँ पालिका उपाध्यक्ष विना राईको प्रमुख आतिथ्यता र महिला समूहका अध्यक्ष सरस्वती कार्कीको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

