वुढानिलकण्ठ नगरपालिकाको आयोजनामा दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
काठमाडाैं । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’भन्ने नाराका साथ राष्ट्रिय महत्व बोकेको बुढानिलकण्ठ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ।

३ दिन सम्म बूढानीलकण्ठ स्कूलमा सञ्चालन भइ रहेको शिल्डमा नगर भित्रका २३ वटा माध्यमिक विद्यालयहरूका छात्र ४७६ र छात्रा ३५३ गरी कुल ८२९ जना विद्यार्थीहरू सहभागी हुँदैछन् ।
एथलेटिक्स, कबड्डी, मार्शल आर्ट र भलिवल गरि चारवटा विधामा छात्र र छात्रा छुट्टाछुट्टै प्रतिस्पर्धा गर्ने आयोजकको भनाइ छ । एथलेटिक्सतर्फ १०० देखि १५०० मिटरसम्मको दौड, रिले १०० र ४०० मिटर दौड, सटपुट, ज्याभलिन थ्रो, लङ्ग जम्प, हाई जम्प, ट्रिपल जम्प खेलहरू हुनेछन् ।
खेलका विजेताहरु नगरबाट प्रदेश, जिल्ला हुँदै राष्ट्रिय खेलमा सहभागी हुने मौका यस खेलका विजेताहरूलाई हुनेछ । हरेक खेलमा प्रथम हुनेलाई नगद रू ५० हजार, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार साथै शिल्ड, ट्रफी , प्रमाणपत्र प्रदान गरिनेछ । नगरपालिकाको आफ्नै भब्य आयोजना, विजेताले राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउने मौका र राम्रो नगद पुरस्कार भएकोले यसलाई महत्वका साथ हेरिएको छ ।

