सोलुदुधकुण्ड : रमिते प्रहरी चौकीलाई खड्का दम्पतीले दिए तीन रोपनी जग्गा नि:शुल्क
सुबास दर्नाल ,सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङलास्थित रमिते प्रहरी चौकीलाई निशुल्क जग्गा प्राप्त भएको छ । प्रहरी चौकी भवन निर्माणका लागि स्थानीय निर्मला खड्का र ज्ञान बहादुर खड्का दम्पतीले ३ रोपनी जग्गा निशुल्क रजिष्टेशन पास गरिदिनुभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

खड्का दम्पतीले आज मालपोत कार्यालय सोलुखुम्बु पुगेर प्रहरी चौकी रमितेको नाममा उक्त जग्गा पास गरिदिनुभएको प्रहरी नायब उपरीक्षक(डिएसपी) कवित कटवालले जानकारी दिनुभयो । उक्त प्रहरी चौकी आफ्नै जग्गा नहुँदा अन्य कार्यालयको भवनमा बस्दै आएको छ ।
नागरिकलाई सुरक्षा दिने प्रहरी आफै असुरक्षित रहेको महशुस भएकाले भवन निर्माणका लागि आफुले मुख्य पक्की सडकसँगैको जग्गा निशुल्क प्रदान गरेको दाता ज्ञान बहादुर खड्काले बताउँनुभयो । सबै नागरिकको सुरक्षामा तल्लीन प्रहरीलाई आफुले आफ्नो नाममा रहेको जग्गा प्रदान गरेर सहयोग गर्न पाउँदा खुसी लागेको जग्गा दाता निर्मला खड्काले बताउँनुभयो ।
जग्गा दाता खड्का दम्पतीलाई प्रहरी नायब उपरीक्षक (डिएसपी) कवित कटवालले खादा ओडाई सम्मान गर्नुभएको छ ।
प्राप्त जग्गामा प्रहरी चौकी भवन निर्माणका लागि पहल गरिने डिएसपी कटवालले बताउँनुभयो । हाल रमिते प्रहरी चौकीमा असईको कमाण्डमा ९ जना प्रहरी कार्यरत्त रहेका छन् ।

