खुल्ला मन्चमा बिप्लवसहित ६ कम्युनिस्ट पार्टीको सभा भोलि, क-कस्ले गर्दैछन् सम्बोधन ?
काठमाडौं।अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ सहित ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले भोलि खुलामन्चमा आयोजना गर्ने बिरोधसभालाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुले पनि सम्बोधन गर्ने भएका छन्।

सरकारले संसदबाट व्याख्यात्मक टिप्पणीसहित एमसिसी सम्झौतालाई पारित गरेपछि त्यसको विरोधमा रहेका नेताहरूसँगको भेटवार्तालाई तीब्रता दिएका बिप्लवले सो जानकारी दिएका हुन।सरकारले गत आइतबार एमसिसीलाई संसदबाट पारित गरेपछि विप्लवले एमसिसीको विरोधमा बोलेका नेताहरूसँग आफ्नो छलफललाई केन्द्रित गरेका छन् ।
माओवादी केन्द्रमा नेता नारायणकाजी श्रेष्ठ पक्षले र एकीकृत समाजवादीमा सम्मानित नेता झलनाथ खनाल, नेकपा एमालेका नेता भीम रावलले एमसिसीको विरोध गरिरहेका छन् ।
उनले श्रेष्ठ, खनाल र एमसिसी सम्झौताको संसदमा चर्को विरोध गर्दै आएको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारयणमान विजुक्छेसँग भेटवार्ता र छलफल गरेका छन् । त्यस्तै, आज उनले एमाले नेता रावलसँग पनि भेटवार्ता गरेका छन् ।
विप्लवले एमसिसी विरोधी नेतालाई आफूहरूको समूहले आयोजना गर्न लागेको एमसिसीविरुद्धको सभामा सहभागी हुन आग्रह गरेका छन् ।
नेता रावलले ट्वीटमार्फत ‘विप्लव’ र नेता खड्ग विश्वकर्मासँग टोखास्थित आफ्नो घरमा भेटवार्ता भएको बताए ।
उनले राष्ट्रिय स्वाधीनताको लागि सबै देशभक्त एक हुन र मोर्चा बनाउन जोड दिन आग्रह गरेको नेता रावलले जनाए ।देशभक्तहरू एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने विचार राखेको उनले बताए ।
एमसिसी अनुमोदनको विरोधमा कम्युनिस्ट पार्टी र मोर्चाले शुक्रबार खुल्ला मञ्चमा हुने जनाइएको छ । सभालाई खनाल, श्रेष्ठ र रावलले पनि सम्बोधन गर्ने बताइएको छ ।
जनसभाको प्रमुख वक्तामा विप्लवसहित राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, आहुतीलगायतका नेताहरू छन् ।
एमसिसीको विरोधमा साना दलहरूले शुक्रबारदेखि निरन्तर ६ चैतसम्म विरोधका कार्यक्रम तय गरेका छन् ।

