चुनावी अभियानमा जुट्यो नेपाल फुटबल संघ



काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फा चुनावी अभियानमा होमिएको छ । एन्फा कम्प्लेक्स सातदोवाटोमा विहीबार बसेको कार्यसमितिको बैठकले निर्वाचनका लागि निर्वाचन समिति र निर्वाचन अपिल समिति गठन गरेको छ ।

तर त्यो समितिमा मनोनित गरिएका व्यक्तिहरुलाई २९ गते बस्ने साधारणसभाले अनुमोदन गर्नु पर्ने छ । निर्वाचन समितिको संयोजकमा अधिवक्ता राम दवाडी रहेका छन् । यसैगरी सह संयोजकमा अधिवक्ता रामचन्द्र गौतम र सदस्यमा दामोदर भट्टराई रहेका छन् ।

यसैगरी निर्वाचन पुनरावेदन समितिको संयोजकमा अधिवक्ता विष्णु लुईँटेल र सह संयोजकमा अधिवक्ता सुधा रिजाल रहेकी छिन् । यसैगरी सदस्यमा केशबमणि अर्याल रहेको जनाइएको छ । एन्फाको नयाँ नेतृत्व चयनका लागि जेठ १५ गते चुनाव हुँदै छ । एन्फाको निर्वाचनमा ९२ जनाको सदस्यता रहे पनि योग्यता नपुगेका कारण ५ जनाले चुनावमा मतदान गर्न पाउने छैनन् ।

त्यसअघि एन्फा सदस्य किरण राईको संयोजकत्वमा रहको निर्वाचन निर्देशिका समितिले बुझाएको प्रतिवेदन पारित गरिएको थियो । उक्त प्रतिवेदन अहिले पारित भए पनि फिफा र एएफसीले दिने सुझावलाई पनि थप गरिने सहमति पनि भएको जनाइएको छ ।

यसैगरी एन्फा उपाध्यक्ष विरबहादुर खड्का नेतृत्वको छानविन समितिले पनि प्रतिवेदन अध्यक्ष कर्माछिरिङ शेर्पालाई बुझाएको छ । प्रतिवदेन भने गोप्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्