मरिससबिरुद्दको पहिलो मैत्रीपुर्ण खेलमा नेपाल बिजयी,दोश्रो खेल मंगलबार हुने



मोरिससविरूद्धको पहिलो मैत्रीपूर्ण खेलमा घरेलु टोली नेपाल विजयी भएको छ । नेपालले शनिबार दशरथ रंगशालामा १–० को कठिन जित हात पारेको हो ।

 

खेलको ५५औँ मिनेटमा विमल घर्ती मगरले गरेको एक मात्र गोल नेपाललाई जित दिलाउन पर्याप्त बन्यो । अन्जन विष्टको पासमा विमलले गरेको प्रहार पोलमा लाग्दै गोलमा परिणत भएको थियो ।

करिब दुई वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका विमलले पछिल्लोपटक सन् २०१८ मा भएको साफमा गोल गरेका थिए । योससँगै उनको अन्तर्राष्ट्रिय गोलसंख्या ९ पुगेको छ ।

दुवै टोली पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन् ।

३६औँ मिनेटमा एड्रिएन फ्रान्कोइसको वान भर्सेस वानको प्रहारलाई गोलरक्षक तथा कप्तान किरण चेम्जोङले नियन्त्रणमा लिँदै नेपालको खतरा टारे ।

४५औँ मिनेटमा अन्जन विष्टले सुवर्ण अवसर खेर फाल्दा नेपालले अग्रता लिन सेकन । मोरिससका डिफेन्डरको गल्तीमा अन्जनले अवसर पाए पनि उनको प्रहार दोस्रो बार च्याप्दै बाहिरियो ।

४६औँ मिनेटमा मोरिससका फर्नान्डो ज्याक्सनको प्रहार पोलमा लागेर फर्कंदा नेपालको खतरा टर्यो ।

७५औँ मिनेटमा अञ्जन विष्टको प्रहार क्रसबारमा लागेर फर्कंदा नेपालले अग्रता दोब्बर बनाउन सकेन ।

७७औँ मिनेटमा अञ्जन विष्टको प्रहार सेकेन्ड बारमा लागेर फर्किएको बलमा जगिजत श्रेष्ठको हेडर बाहिरियो

दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्