पशुपतिनाथ र गोरखाको मनकामना मन्दिर भक्तजनहरुका लागि फेरि बन्द
काठमाडौं।पशुपति क्षेत्र विकास कोषले बुधबारदेखि पशुपतिनाथ मन्दिरमा पूजाआजाका लागि भक्तजनलाई प्रवेशमा रोक लगाएको छ। विश्वव्यापी महामारी ओमिक्रोन बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले मन्दिरमा नित्य पूजा मात्र गर्ने गरी आदेश जारी गरेपछि कोषले पूजामा रोक लगाएको हो।

‘ओमिक्रोनको संक्रमण बढ्दै गएको सन्दर्भमा २०७८ माघ ४ गते राति १२ बजेदेखि अर्को सूचना नभएसम्म लागू हुने गरी आदेश भएबमोजिम पशुपतिनाथ मन्दिरमा भक्तजनलाई पूजाआजामा रोक लगाइएको कोषका सदस्यसचिव डा। मिलनकुमार थापाले बताए।
उनका अनुसार प्रशासनबाट जारी विज्ञप्तिको बुँदा नम्बर ६ बमोजिम मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरेर नित्य पूजा, ध्यान र प्रार्थना मात्र गराउने भनिएको छ। प्रशासनले माघ मसान्तसम्मका लागि रोक लगाउने जानकारी दिएको छ।
उता, गोरखाको मनकामना मन्दिरमा नित्य पूजा बाहेक सबै धार्मिक गतिविधिमा रोक लगाइने भएको छ । माघ ७ गते शुक्रवारदेखि माघ मसान्तसम्म भक्तजनको प्रवेशमा रोक लगाइने भएको हो ।
कोरोना संक्रमण बढ्दै गएकाले भक्तजनहरुको प्रवेशमा रोक लगाउने निर्णय भएको मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक लेबिन्द्र गुरुङले बताउनुभयो । मनकामना क्षेत्र विकास समितिको बैठकले आगामी शुक्रवारदेखि आन्तरिक रुपमा नित्य पूजा मात्रै गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण रोकथामका लागि नेपाल सरकारले जारी गरेको आदेश पालना गर्दै मन्दिरमा भक्तजनको प्रवेशमा रोक लगाउने निर्णय भएको गुरुङले जानकारी दिनुभयो ।

