बालकोटबाट निराश हुंदैं फर्किए प्रधानमन्त्री देउवा, ओलीसँग के भयो कुराकानी



काठमाडौं। संसद्को अवरोध हटाउन र एमसीसी पारित गर्न सहयोग माग्दै प्रमुख विपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न उनकै निबास बालकोट पुगेका प्रधानमन्त्री शेर देउवा निराश हुँदै फर्किएका छन् ।

प्रधानमन्त्री भए यता पहिलो पटक ओलीसँग वान टु वान बार्ता गर्न शनिबार बालकोट पुगेका प्रधानमन्त्री देउवाको आग्रह पछि अध्यक्ष ओलीले जवाफ स्वरुप सभामुख र निर्वाचन आयोगले आफ्नो पार्टीविरुद्ध खेलेको भूमिकाका विषयमा ‘के हुने’ भनी प्रश्न गरेको स्रोतको भनाइ छ।

आफ्नो पार्टी फुटाउन सरकारले जारी गरेको अध्यादेश, पार्टीले निष्कासन गरेका सांसदलाई पदमुक्त नगरी पार्टी विभाजन गर्न सभामुखले सहयोग गरेको, संसद्मा एमालेले अवरोधलाई अस्विकार गरेको भन्दै ओलीले असन्तुष्टि जनाएका थिए।

सभामुखको भूमिकाप्रति प्रश्न उठाइरहेको एमाले सभामुख अग्नि सापकोटाले भदौ २८ गते बोलाएको सर्वदलीय बैठकमा पनि सहभागी भएन। प्रधानमन्त्री देउवाले असोज १४ र पुस ४ गते बोलाएको सर्वदलीय बैठकमा पनि एमाले अनुपस्थित रहेको थियो। एमाले छलफलमा पनि नआएपछि गठबन्धनको बिहीबार र शुक्रबार बसेको बैठकले संसद् अवरोध हटाउन अब एक मात्र प्रयास प्रधानमन्त्रीले मात्र गर्न सक्ने निचोड निकालेको थियो। यसअघि प्रधानमन्त्री देउवाको दूत बनेर सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले धेरै पटक बालकोट पुगेर ओलीसँग कुराकानी गरेका थिए। गठबन्धनकै तर्फबाट उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले बुधबार साँझमात्रै एमाले अध्यक्ष ओलीलाई भेटेका थिए। उक्त भेटमा पनि पौडेलले ओलीलाई सहज रूपमा संसद् सञ्चालनको वातावरण बनाइदिन आग्रह गरेका थिए।

एमालेको अवरोधकै कारण देउवा प्रधानमन्त्री भएयता संसद्ले राम्रोसँग काम गर्न पाएको छैन। प्रधानमन्त्री देउवाले संसद् सञ्चालनका विषयमा छलफल गर्न सर्वदलीय बैठक र वार्ताको प्रयास गरे पनि एमालेले बैठकहरू बहिस्कार गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्