सोलु एमालेको अधिबेशन : बन्दसत्र सन्चालनका लागि राजभण्डारीको अध्यक्षतामा अध्यक्ष मण्डल गठन



सोलुखुम्बु।नेकपा एमाले सोलुखुम्बुको जारी सातौं अधिबेशनको बन्दसत्र सन्चालनका लागि १ नं प्रदेश कमिटी सदस्य एबम् संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीको अध्यक्षतामा नौ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ।

अधिबेशनका बांकी प्रक्रिया अगाडी बढाउनका लागि गठित अध्यक्ष मण्डलको सदस्यहरुमा प्रदेश कमिटी सदस्यहरु सोनाम ग्याल्जेन शेर्पा,बच्चुनारायण श्रेष्ठ,उत्तमकुमार बस्नेत,महेश किराँती,पोष्टकुमार कार्की,डीबी नेपाली,कुमार राई, बीरबहादुर राई र जुनितामाया मगर रहेको अधिबेशन आयोजक कमिटीका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिए।

सांझ सुरु भएको बन्द सत्रमा अध्यक्ष बास्तोला र संगठन बिभाग प्रमुख समेत रहेका निबर्तमान उपाध्यक्ष हर्कबहादुर राईद्वारा प्रस्तुत क्रमशः राजनीतिक तथा सांगठनिक प्रतिबेदन प्रतिनिधिहरुलाई उपलब्ध गराइएको छ।शनिबार बिहान आठ बजेबाट सुरु हुने बन्दसत्रमा प्रतिबेदनहरुमाथि प्रतिनिधिहरुले राय व्यक्त गर्नेछन्।प्रतिबेदन पारित भएसंगै अधिबेशनमा नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अघि बढाइने अध्यक्ष मण्डलका अध्यक्ष राजभण्डारीले बताए।सकेसम्म नेतृत्व सर्बसम्मत रुपमा चयन गरिने उनको भनाइ रहेको बन्द सत्रका सहभागीले जानकारी दिएका छन् ।

अधिबेशनको उद्घाटन आजै नेकपा एमाले सोलुखुम्बुका इन्चार्ज समेत रहेका केन्द्रीय सदस्य मानबीर राईले गरेका थिए।उद्घाटन सत्रमा अतिथि राजभण्डारी, प्रदेश कमिटी सदस्य महेश किराँती,प्रदेश सांसद उत्तमकुमार बस्नेत,सोनाम ग्याल्जेन शेर्पा,बच्चुनारायण श्रेष्ठ , कल्पना राई तथा जिल्ला कमिटीका उपाध्यक्ष हर्कबहादुर राई लगायतले मन्तव्य व्यक्त गरेका थिए।

उद्घाटन सत्रको सभापतित्व जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोला र सन्चालन सचिब आशकुमार राई शिशिरले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्