माओवादी केन्द्र : दुई प्रतिबेदनमाथि छलफल गर्न २५ समूह गठन



काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का नेता देव गुरुङले आठौँ महाधिवेशनको बन्द सत्रमा प्रस्तुत गर्नुभएको राजनीतिक र बिधान सम्बन्धि प्रतिवेदनमाथि छलफल गर्न २५ वटा समूह गठन गरेको छ ।

प्रदेश र जनवर्गीय सङ्गठनहरूको छुटाछुटै समूह बनाएको माओवादी केन्द्रले जनाएको छ ।छलफलका लागि प्रज्ञा भवनका हल, पार्टी कार्यालय र विभिन्न पार्टी प्यालेसमा स्थान तोकेको छ ।

बन्द सत्रमा अध्यक्ष प्रचण्डले सात बुँदामा ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ । उहाँले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनमा नेतारकार्यकर्तामा विकसित हुँदै गएको चरम स्वार्थी प्रवृत्तिले माओवादीलाई क्रान्तिकारी रूपान्तरणमा लैजाने विषय जटिल बन्दै गएको उल्लेख छ ।

माओवादी शान्ति प्रक्रियामा आएदेखि अहिलेसम्म के–के कुरामा कमजोरी भयो भन्ने विषयमा प्रतिवेदनमा विस्तृत रूपमा उल्लेख गर्नुभएका प्रचण्डले वृहत् योजना र सुधारविना पार्टी अघि बढ्न नसक्ने बताउनुभएको छ ।

उता गुरुङले प्रस्तुत गर्नुभएको विधानको मस्यौदामा अब माओवादी केन्द्रको केन्द्रीय समिति २९९ सदस्यीय हुने उल्लेख छ । यस्तै एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्षसहित १५ सदस्यीय पदाधिकारीको व्यवस्था गरिएको छ । यस्तै केन्द्रीय समितिमा १० प्रतिशत मनोनीत गर्न सकिने प्रस्ताव गरिएको छ । बन्दसत्रमा मंगलबार समूहगत छलफल हुने र बुधबार समूहको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम तय भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

समूहको निष्कर्षपछि प्रतिवेदन पारित गरे हुने र त्यसपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुने माओवादीले जनाएको छ । त्यसका लागि विष्णुपुकार श्रेष्ठ अध्यक्ष रहनुभएको निर्वाचन आयोगले पनि आवश्यक काम सुरु गरिसकेको छ । सुरुमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादीले शनिबार मात्रै महाधिवेशनमा रुपान्तरण गरेको थियो । सम्मेलनमा एक हजार ७०० को हाराहारीमा प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्