नेपालका राजनीतिक दलहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेको राप्रपा अध्यक्ष लिङ्देनको आरोप
काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालका राजनीतिक दलहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाएका छन्। सोमबार पूर्वी नवलपरासीको कावासोतीमा राप्रपा गण्डकी प्रदेश समितिले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले राजनीतिक दलका नेताहरू गाउँमा जाँदा चोर आयो भन्ने गरेकोसमेत कार्यक्रममा दोहोर्याए। ‘सत्ताधारी दल मात्र होइन प्रतिपक्षमा रहेका दलहरू पनि भ्रष्टचारमा चुर्लुम्म डुबेका छन्,’ उनले भने। उनले कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी पार्टी सबैका नेताहरू भ्रष्टचारी भएको आरोप लगाउँदै अब राप्रपाले भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्ने दाबीसमेत गरे।
लिङ्देनले नेपालका राजनीतिक दलहरूले राजाको विरोध गरे आफू र आफ्नो दल बचिरहन्छ भनेर राजसंस्था र राजतन्त्रको विरोध गर्ने गरेको भए पनि अब राजतन्त्रकै विरोध गरेको भरमा राजनीति गर्ने दिन गएको दाबी गरे। ०६२र६३ को जनआन्दोलनपछिका घटना सम्झँदै उनले भने, ‘हामीले राजतन्त्रको पक्षमा वकालत गर्यौं। त्यतिवेला मलाई ८ दल मिलेर मरणासन्न हुने गरी कुटेर फाले। राजसंस्था र राजा नेपालको पहिचान हो राष्ट्रिय पहिचान हो। त्यसैले हामी राजतन्त्रको पक्षमा लागेका छौँ।‘
उनले देशमा स्थायित्व कायम राख्न, राष्ट्रियता जोगाउन राजतन्त्र आवश्यक रहेकोमा जोड दिए। त्यसैगरी उनले सर्वधर्म सम्पन्न सनातनसहितको हिन्दू राष्ट्रको पक्षमा राप्रपा रहेको बताए। उनले नेपालमा सबै धर्म अट्नुपर्नेमा जोड दिँदै नेपालमा हिन्दू राष्ट्र भने आवश्यक रहेको दाबी गरे।

