जनताले क्रान्ति होइन निर्माण,समृद्धि र परिवर्तन खोजेको एमाले महासचिव पोखरेलको भनाई
काठमाडौं।नेकपा एमालेका महासचिव शंकर पोखरेलले क्रान्तिले मात्रै नेपालको निर्माण नहुने बताएका छन्। प्रज्ञा प्रतिष्ठानमा भइरहेको नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटनसत्रमा सम्बोधन गर्दै उनले देशमा तीन तीनवटा क्रान्ति भएपनि देश निर्माण नभएको बताएका हुन्। गिरिजाप्रसाद कोइरालाले तीनतीनवटा क्रान्तिको नेतृत्व एउटै पुस्ताले गरेको गर्वले सुनाउने गरेको स्मरण गर्दै फर्केर हेर्दा भने आफूलाई पश्चाताप लागेको बताए। ‘हामी क्रान्तिका हिसावमा गर्व गर्छौं। तर दुनियाँमा राजनीतिक क्रान्तिपछि परिवर्तन हुनेगर्छ। तर नेपालमा तीनतीन वटा क्रान्ति भए पनि युगलाई बदल्न सकेनौं। किन भन्ने प्रश्नको उत्तर हामीले दिन सकेनौं भने हामी क्रान्तिका नायक त हुन्छौं। तर निर्माणको नायक हुन सक्दैनौं।’ उनले भने। पोखरेलले जनताले क्रान्ति मात्र नभइ निर्माण, समृद्धि र परिवर्तन खोजेको यथार्थलाई नेपालका राजनीतिक दलले आत्मसात गर्नुपर्ने बताए। उनले राजनीतिक दलहरुले समीक्षा गर्नुपर्ने बेला आएको समेत बताए। २००७ साल देखि अधिकारको विषयमा केन्द्रित भएको भन्दै राष्ट्रको मामिलामा कर्तव्य पूरा गर्न सकेको नसकेको पार्टीहरुले मनन गर्नुपर्ने बताए। पोखरेलले उद्घाटनसत्रमा आफ्नो दलमाथि नेताहरुले गरेको टिप्पणीको उत्तर नदिने बताए। भने, ‘ यहाँ व्यङ्ग्य चल्यो। सत्ता गठबन्धनका धेरै साथीहरु यहाँ छन्। हामी प्रतिपक्षमा छौं। सवालको जवाफ दिनुपर्ने हो। तर म दिँदिन। किनभने यो उद्घाटन समारोह हो। सार्वजनिक रुपमा हामी बाहिर बहस गर्न सक्छौं।’ उनले नेपालको वामपन्थी आन्दोलन सही बाटोमा अघि नबढेको बताए। नेपालको राजनीतिक उपलब्धी सामूहिकताको आधारमा आएको भन्दै माओवादी र एमाले मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई रक्षा गर्न नसकेको बताए। ‘हाम्रा मान्यताबाट हामीले केन्द्रित गर्न सकेनौ। त्यसलाई जोगाउन नसकेकोमा मलाई पछुतो छ। हामी विभाजित जति भयौ त्यति अरुले खेल्न पाउछन्।’ उनले सत्तारुढ गठबन्धनमाथि प्रश्न उठाउँदै भने, ‘पार्टी बलियो बनाउनुको कुनै अर्थ छैन। समाजलाई बदल्न सकेनौ भने केहि अर्थ छैन। पाँच दल, छ दल मिल्नुको अर्थ छैन। जनताको जनादेशमा जाने कुरालाई प्रतिगमनको लेपन लगाइएको छ।’


