सोलु एमाले जुट्यो अधिबेशनको तयारीमा, पुष २३ मा उद्घाटन हुने
सोलुखुम्बु।नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुको सातौं जिल्ला अधिबेशनको तयारीमा जुटेको छ।शनिबार सम्पन्न जिल्ला कमिटीको बैठकले पुष २३ र २४ गते हुने अधिबेशनका लागि विभिन्न उपसमिति गठन गरेको एमाले सोलुखुम्बुले जनाएको छ।

पार्टीका स्थायी कमिटी सदस्य विन्दा पाण्डेको प्रमुख आतिथ्यता तथा जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोलाको अध्यक्षतामा सम्पन्न १७ औं पूर्ण बैठकले जिल्ला सदरमुकाम सल्लेरीमा अधिबेशन गर्ने निर्णय गरेको हो।जिल्ला पार्टी प्रचार विभाग प्रमुख बिरुदास श्रेष्ठका अनुसार बैठकले अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न ९ वटा उपसमिति गठन गरेको छ ।

बैठकले पार्टी अध्यक्ष डुफकुमार बास्तोलाको संयोजकत्वमा राजनीतिक प्रतिवेदन तयारी उपसमिति, हर्कबहादुर राईको संयोजकत्वमा साङ्गठनिक प्रतिवेदन तथा प्रतिनिधि ब्यवस्थापन उपसमिति, आशकुमार राई ९शिशिर०को संयोजकत्वमा अतिथि सत्कार उपसमिति, रामकाजी श्रेष्ठको संयोजकत्वमा आर्थिक उपसमिति र बिरुदास श्रेष्ठको संयोजकत्वमा आवास तथा खाद्यान्न व्यवस्थापन उपसमिति गठन गरिएको छ।
यसैगरी, दीपक राजभण्डारीको संयोजकत्वमा स्वयंसेवक परिचालन उपसमिति र मिशन राईको संयोजकत्वमा सांस्कृतिक उपसमिति गठन गरेको श्रेष्ठले बताए । अधिवेशनमा १९४ सदस्य जिल्ला अधिवेशन आयोजक कमिटी र साङ्गठनिक सदस्यहरुबाट छनोट भएका ३०६ जना गरी ५ सय जना प्रतिनिधीहरुको सहभागिता हुने प्रचार विभाग प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । पार्टीको विधान अनुसार जिल्ला आयोजक कमिटीका प्रतिनिधिहरु अधिवेशनका प्रतिनिधि रहने नेकपा एमाले सोलुखुम्बुले जनाएको छ ।

