आफनै महाधिवेशन गर्न नसक्ने कांग्रेसले अब एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैन :एमाले अध्यक्ष ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले महाधिवेशन गर्ने क्षमता नै गुमाइसकेको टिप्पणी गरेका छन् ।

सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले चावहिलमा आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस महाधिवेशन नै गर्न नसक्ने अवस्थामा पुगेको बताएका हुन् ।
एमालेले ६ हजार ३४५ जना प्रतिनिधि सहभागी गराएर भव्य रुपमा विधान महाधिवेशन सम्पन्न गरेको र लगत्तै दशौं राष्ट्रिय महाधिवेशन गर्न लागेको तर, कांग्रेसले विभिन्न समयमा थपेको समयमा पनि महाधिवेशन गर्न नसकेको ओलीले बताए ।
‘हामीले अत्यन्त भव्यताका साथ विधान महाधिवेशन गर्यौं । दुनियाँ चकित भयो । अरूको महाधिवेशनको हालत हेर्नुस् त कस्तो छ ।’
कांग्रेसले पाँच वर्षमा महाधिवेशन गर्न नसकेर विभिन्न समयमा मिति थप्दै सार्दै गरेको तर, महाधिवेशन गर्न नसक्ने भएको ओलीको टिप्पणी थियो ।
ओलीले भने, ‘पाँच वर्षभित्रमा गर्नुपर्ने नसक्ने, ६ महिना थप्यो त्यसबेला गर्न नसक्ने, निर्वाचन आयोगले दिएको ६ महिनाको समयमा महाधिवेशन गर्न नसक्ने । महाधिवेशन आयोजना गर्ने क्षमता नै कांग्रेसमा गुम्यो । कांग्रेस पार्टी बूढो भयो । विचार बुढो भयो ।’
समयमा महाधिवेशन नै गर्न नसक्ने कांग्रेस एमालेसँग प्रतिस्पर्धाको लागि समेत योग्य नभएको ओलीको भनाइ थियो ।
सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको थियो ।

