कांग्रेस १४ औं महाधिवेशन : सभापतिका लागि डा. सशांकको तयारी, निधि भोट माग्दै



जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेसको आगामी १४औं महाधिवेशनमा सभापति पदमा आफूलाई सहयोग गर्न पार्टीका नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।

शनिवार जनकपुरधाममा सोलुमैट कैफे एण्ड रेष्टुरेन्टको उदघाटन कार्यक्रममा नेता निधिले भने, ‘मैले सभापतिमा उम्मेदवारी घोषणा गरिसकेकाले सम्पर्क कार्यालय खोलेर काम अघि बढिसकेको छु। तपाइहरू (पार्टीका नेता कार्यकर्ता)ले सहयोग गर्नुहुन्छ भन्ने पूर्ण आशा र विश्वास छ।’

नेता निधिले प्रदेश २ को राजधानी जनकपुरधाम नै रहने दाबी गरे। उनले प्रदेशको नामाकरणमा विवाद रहेपनि राजधानी करिब–करिब सबैको एकमत देखिएको र सबै दृष्टिकोणले जनकपुरधाम उपयुक्त रहेकोले जनकपुरधामबाट राजधानी कुनै पनि हालतमा अन्त नसारिने बताए।

पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका नेता निधिले अहिले तत्कालिन जनकपुर चुरोट कारखानाको भवनमा रहेको प्रदेश सरकार तथा प्रदेशका मन्त्रालयहरू उपयुक्त रहेकाले यो भन्दा अर्को कुनै उत्तम विकल्प नहुने समेत बताए।

उता नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले आफुले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।नेपाली कांग्रेस धादिङ–काठमाडौं सम्पर्क समितिले दशैंका अवसरमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा शनिबार
महामन्त्री डा कोइरालाले कांग्रेसभित्रको गुटको अन्त्यका लागि आफुले पार्टीको १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेद्वारी दिन लागेको बताएका हुन्। ‘कांग्रेसलाई एकढिक्का बनाउन म सभापति पदमा उम्मेद्वारी दिन्छु,’ डा कोइरालाले भने।

प्रतिक्रिया दिनुहोस्