अफगानिस्तानलाई दिने भनिएको सहयोग छिटो उपलब्ध गराऊ : राष्ट्रसंघ



संयुक्त राष्ट्रसंघले अफगानिस्तानलाई दिने भनी प्रतिबद्धता व्यक्त गरेको मानवीय सहायतास्वरुपको रकम छिटो उपलब्ध गराउन विदेशी समुदायलाई आग्रह गरेको छ।संयुक्त राष्ट्रसंघको पहलमा हालै भएको एक सम्मेलनका क्रममा विश्वका कतिपय देशले अफगानिस्तानलाई मानवीय सहायतास्वरुप भन्दै रकम उपलब्ध गराउने बताएका थिए।

ती देशहरुले कम्तीमा पनि १ अर्ब २ करोड अमेरिकी डलर सहयोग स्वरुप उपलब्ध गराउने ती देशहरुले जनाएका थिए। त्यस क्रममा उनीहरुले तत्कालका लागि यति रकम दिने बताएका थिए। संयुक्त राष्ट्रसंघले भने अफगानिस्तानको अवस्था निकै नाजुक बन्दै गएको भन्दै प्रतिबद्धता व्यक्त गरिएको सो रकम तत्कालै उपलब्ध गराउन भनेको छ।

संयुक्त राष्ट्रसंघका तर्फबाट महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफन डुजारिकले सो रकम उपलब्ध गराउन मंगलबार भनेकी हुन्। यसअघि अफगानिस्तानमा ठूलो मानवीय संकट आउन लागेको संयुक्त राष्ट्रसंघले जनाएको थियो। संयुक्त राष्ट्रसंघले यसका लागि विश्व समूदाय गम्भीर हुनुपर्ने बताएको थियो।

अफगानिस्तानको आर्थिक अवस्था ध्वस्त भएको र ठूलो मानवीय संकट आउन लागेको भन्दै त्यहाँ आवश्यक सहयोग उपलब्ध गराउन भनिएको छ। हालै जेनेभामा भएको एक सम्मेलनमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा विश्वको ध्यानाकर्षण गराएको बताइएको थियो। सोमबार जेनेभामा आयोजित एउटा सम्मेलनमा अन्तर्राष्ट्रिय दाताहरूसँग संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसले सहयोगको आह्वान गरेका हुन्।

उनले अहिले नै अफगानिस्तानमा खाना र महिला तथा बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्न लागेको भन्दै सो रकमको आवश्यकता परेको बताइएको छ। गत महिना सशस्त्र विद्रोहमार्फत् अफगानिस्तानको सत्ता तालिबानीहरुले हातमा लिएका थिए। त्यसयता वैदेशिक सहायता पनि ठप्प भएको छ।

अफगानिस्तानका नागरिकहरूलाई तत्कालै खाना, औषधि, स्वास्थ्य सेवा तथा पछिल्लो समयमा सुरक्षित पिउने पानीको पनि समस्या रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ।

महासचिव गुटर्रेसले सो सम्मेलनमा करिब ६० करोड अमेरिकी डलरको तत्कालै आवश्यकता रहेको बताए। उनले यो सहयोग तत्कालै उपलब्ध भएमा अफगानिस्तानका दशौँ लाख मानिसलाई राहत पुग्ने पनि बताए।

प्रतिक्रिया दिनुहोस्