सोलुदुधकुण्ड : नगरसभापतिमा दुई जनाको दावेदारी, एउटालाई केसी र अर्कालाई शेर्पाको आशीर्वाद



सोलुखुम्बु ।जिल्लाका ५२ वटै वडामा अधिबेशन सम्पन्न गरेको नेपाली काग्रेस सोलुखुम्बुको ध्यान अब गाउँ तथा नगर अधिबेशनतर्फ केन्द्रित हुन थालेको छ।१४ औं महाधिवेशनको परिबर्तित पछिल्लो कार्यतालिका अनुसार असोज ९ गते हुने सो अधिबेशनका लागि आकांक्षीहरुले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् ।

जिल्लाको एकमात्र नगरपालिका सोलुदुधकुण्डमा नगरसभापतिका लागि हालसम्म दुई जनाले उम्मेद्वारी घोषणा गरेका छन्।उम्मेदवारी घोषणा गर्नेमा वडा न- २ का निर्बाचित वडाध्यक्ष मिङमार शेर्पा र सोनाम ग्याल्जेन शेर्पा छन् । उनीहरू मध्ये मिङमारलाई पूर्बमन्त्री समेत रहेका कांग्रेस केन्द्रीय सदस्य बलाबहादुर केसीको र सोनाम ग्याल्जेनलाई पूर्ब सभापति आङगेलु शेर्पाको आशिर्वाद छ।

नगर सभापतिका दावेदार सोनाम ग्याल्जेनले शनिबार र मिङमारले शुक्रबार उम्मेदवारी घोषणा गरेका थिए।उम्मेदवारी घोषणाका लागि आयोजित गुटगत भेलामा केसी र शेर्पाले आ-आफ्ना उम्मेदवारहरुको प्रशंसा गर्दै निर्बाचित हुने सुनिश्चित रहेको दावी गरेका थिए।

उम्मेदवारी घोषणासभामा नेताहरुको उपस्तिथि हेर्दा मिङमारलाई केसीका अतिरिक्त जिल्ला कार्यसमितिका सभापति बिनोद बस्नेत,अर्का नेता प्रकाशसिंह कार्की र हुतराज बस्नेत लगायत र सोनाम ग्याल्जेनलाई पूर्ब सभापति शेर्पासंगै नगरप्रमुख नाम्ग्याल जाङबु शेर्पासहित ८ जना वडासभापति को समर्थन देखिएको छ।

प्रतिक्रिया दिनुहोस्