सरकारले नयाँ कार्यक्रमसहित ल्यायो आर्थिक प्रतिस्थापन बिधेयक



काठमाडौँ।अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका छन् ।

अध्यादेश बजेट ०७८ लाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गर्दै मन्त्री शर्माले सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोजन गरेको बताए ।
आन्तरिक ऋण ३७ अर्ब घटाइएको छ भने चालु तर्फको खर्च १० प्रतिशत कटौती गरिएको मन्त्री शर्माले जनाए ।

शर्माले कोभिड १९ का प्रभावित नागरिकको जीवन रक्षा र शिथिल भएको अर्थतन्त्रको पुनरुत्थानका लागि बजेट अभाव हुन नदिने बताए । उनले यो विषय सरकारको उच्च प्राथमिकतामा रहेको समेत बताए ।

अहिलेसम्म ५७ लाख ३० हजारले पहिलो मात्रा र ५१ लाखले दुवै मात्रा प्राप्त गरिसकेका छन् । उनले अब करिब तीन करोडमात्रा खोप प्राप्त हुने क्रममा रहेको बताए । ‘कोभिड–१९ नियन्त्रणमा स्रोतको अभाव हुन नदिन सरकार प्रतिबद्ध छ, त्यसका लागि वैदेशिक स्रोतको समेत व्यवस्था गरेको छु,’ उनले भने ।
अर्थमन्त्री शर्माले मृगौला प्रत्यारोपण गरेका, सबै प्रकारका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीलाई औषधी उपचार खर्च मासिक ५ हजार रुपैयाँ दिने घोषणा पनि गरेका छन् ।

यस्तै राजनीतिक आन्दोलनमा लागेर जीवन गुमाएका ब्यक्तिको परिवारका लागि मासिक ३ हजार रुपैयाँ दिने ब्यवस्था गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्