चीनले अफगानिस्तानलाई ३१ मिलियन डलर सहयोग गर्ने



काठमाडौं । चीनले अफगानिस्तानलाई खाद्यान्न आपूर्ति र कोरोनाभाइरसविरुद्धको खोपसहित २०० मिलियन युआन (३१ मिलियन डलर) सहयोग गर्ने वाचा गरेको छ ।

पाकिस्तान, इरान, ताजकिस्तान, उज्वेकिस्तान र तुर्कमिनिस्तानको समकक्षीसँग बुधबारको बैठकमा चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानलाई सहयोग गर्ने घोषणा गरेका हुन् ।

त्यसअघि, बेइजिङले तालिबानले सरकारको घोषणा गर्नु ‘व्यवस्था पुनःस्थापना गर्न आवश्यक कदम’ भन्दै उसँग सञ्चार कायम राख्न तयार रहेको जनाएको थियो ।

विदेशमन्त्री यीले चीनले अफगानिस्तानलाई कोभिडविरुद्धको ३० लाख डोज खोप पनि उपलब्ध गराउने बताए । उनले आफगानिस्तानलाई सहयोग गर्न ती देशहरूलाई आह्वान गरेका छन् ।

विदेशमन्त्री यीले अफगानिस्तानको अर्थतन्त्र र समाजलाई पुनर्निर्माण गर्नुका साथसाथै आतंकवादी समूहहरू र अवैध लागुपदार्थको व्यापारविरुद्धको लडाइँमा त्यस क्षेत्रका देशहरूसँग मिलेर काम गर्ने बताएको  जनाएको छ ।

तालिबान अधिकारीहरूले चीनलाई अफगानिस्तानको एकदम महत्वपूर्ण साझेदारको रूपमा बयान गर्दै युद्धग्रस्त देशको पुनर्निर्माणको लागि चिनियाँ लगानी र सहयोगको आशा राखेका छन् ।

बेइजिङले तालिबानसँग राम्रो सम्बन्ध स्थापना गर्न गम्भीर प्रयास गरेको जनाएको छ । चीनले तालिबान सरकारलाई सहयोगका लागि हात बढाइरहँदा अमेरिकी राष्ट्रपति जो बाइडनले भने उसलाई मान्यता दिनबाट अमेरिका अझै ‘निकै टाढा’ रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्