जनप्रतिनिधिले दल रोज्न पाउने आज अन्तिम दिन, नेकपा ‘एस’मा २२% प्रदेशसभा सदस्य मात्रै !



काठमाडौं।निर्वाचन आयोगले नयाँ दलमा सनाखतका लागि दिएको समयसीमा एकदिन मात्र बांकि रहंदा नेकपा एमालेबाट चोइटिएर बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजबादीलाई प्रदेशतर्फ २२ प्रतिशत सांसदहरुले मात्रै साथ दिएका छन् ।

नेकपा एकीकृत समाजवादी लुम्बिनी र गण्डकी प्रदेशमा निकै कमजोर देखिएको छ। गण्डकीमा एक जना पनि प्रदेश सांसद समाजवादीमा गएनन्। लुम्बिनीमा जम्मा एक जनाले सनाखत गरेका छन्।

बाँकी पाँच वटा प्रदेशमा भने नयाँ पार्टीको अवस्था बलियो देखिएको छ। पाँचै प्रदेशमा गरेर सोमबार बेलुकासम्म ५१ जना प्रदेश सांसद एकीकृत समाजवादी पार्टीमा खुलेका छन्। सुदूरपश्चिममा सबैभन्दा ठूलो दल बन्दा एकीकृत समाजवादी प्रदेश २ मा एमालेभन्दा ठूलो दल बनेको छ।

सातै प्रदेशमा गरेर एमालेले २ सय ३२ प्रदेश सभा सदस्य जितेको थियो। एमालेबाट प्रदेश १ बाट ५१, प्रदेश २ मा २१, बागमती प्रदेशमा ५५, गण्डकी प्रदेशमा २७, लुम्बिनी प्रदेशमा ३७, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा २५ सांसद थिए। तर, एमालेका २२ प्रतिशत प्रदेश सांसद तान्न अध्यक्ष नेपाल सफल भएका छन्।

अध्यादेश ल्याएको २१ दिनभित्र दल परिवर्तन गरे प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको पद नजाने आयोगको निर्णय छ। जसअनुसार मंगलबार एक दिनको समय बाँकी छ। सरकारले भदौ १ गते राजनीतिक दल विभाजनको व्यवस्था खुकुलो पार्दै अध्यादेश ल्याएको थियो।जनप्रतिनिधिहरुलाई दल रोज्नका लागि आयोगले २२ गतेसम्मको समय दिएको थियो।

प्रतिक्रिया दिनुहोस्