लघुकथा : तीजमा फक्रिएको मन



प्रमोद भट्टराई ‘प्रतीक’
कालुकी आमाले निकै आँट गरेर आफ्नो बुढा सँग मायालु भावले भनि,’तिज आइसक्यो !! तीन बर्ष देखि एउटै सारी लाउँदैछु, यसपाली त नयाँ किनिदिनु है !’

अँ….. म पनि सोच्दैछु त्यो कुरा त ! हेरौं, अफिसको एउटा काम मिलाइदिनु छ। त्यो हुनसक्यो भने त दुइटै किनिदिने थिएँ। तर खै अख्तियार निकै चनाखो भएको छ, धेरैतिर छापा मारेको खवर सुनिँदै छ।

आ….. केही हुन्न क्या, हजारौंमा एक दुईटा त समातेको छ नि ! फेरि भएन तपाईँको अफिस त,
त्यति चर्चामा पनि त आएको छैन। डराएर त कहाँ प्रगति गर्न सकिन्छ र ? कस्ता कस्ता नपत्याउनेहरुले पनि, आफ्नो हैसियत कहाँ पुर्‍याइसके ? हामी भने सधैँ उस्ताको उस्तै!!

अँ.. हो त्यो त!
आफ्नी जीवन सँगिनीको ढाढसले, आत्मवल र आत्मविश्वासको सास फेर्यो कालुको बाबुले। मानौं कुनै नयाँ मार्ग पहिल्याए जस्तो, अलिकति हौसला अलिकति आँटले, एउटा अठोट पहिल्याउन सफल भयो ऊ।

तीज आउन तीन दिन मात्रै बाँकी थियो, कालुकी आमा दङ्ग परी! फेसनका सौखिन उसका साथीहरूको भन्दा, अब्बल डिजाइनका एकसे एक तीन तीन वटा साडी र दाम्मी लहङ्गा मात्रै होइन, छड्के तिलहरी र चन्द्रमा पनि देखेर।

मनमनै गर्व गरी, आफुलाई यति धेरै मायाँ गर्ने बुढो पाएर । उठेर बुढोलाई अँगालो मारी, अनि भावबिव्हल भएर भनी, ‘यस्तो मान्छे त कसैले पनि पाउँदैन।’कालुको बाबु पनि दङ्ग थियो आज, बल्ल स्वास्नीको आकाङ्क्षा पूरा गरिदिन सकेकोमा ।

आखिर तीज आइ नै पुग्यो। पुरुषको तीज त कहिल्यै आउने होइन क्यारे! खाना खाएर कालुको बाबु अफिस हिँड्यो। कालुकी आमा मनभरि उत्साह र उमङ्ग पोको पारेर रमाइलो जमघटमा गरेर तिज मनाउन साथीहरूले सल्लाह गरेर निर्धारण गरेको पार्टी प्यालेस तिर लागि।

कालुकी आमा, दिनभरी नाची ! छमछम नाची..
कम्मर भाँचेर नाची… छड्के तिलहरी लर्काउँदै नाची… र्‍याप, पप, डिस्को सबैखाले गीतमा…
अरु बर्षको भन्दा मन फुकाएर नाची। नाच्ता नाच्तै दिन सकियो, धित मरेकै थिएन साँझ पर्यो।
तिजको जोडदार समीक्षा गर्दै, सबै जना लागे फेरि उही… दैनिक विरक्तिले वास बस्ने थलोतिर। घरमा पुगेर हेरी कालु र बैनी मात्रै टिभीमा कार्टुन हेरेर बसेका छन्, बुढा आइपुगेका रहेनछन्।

केहीबेर पछि छिमेकी माल्दाई आइपुगे, खवर छाडेर गए, आज भाइको अफिसमा अख्तियारले छापा मारेछ। भ्रष्टाचारको अभियोगमा, भाइलाई त हिरासतमा राख्यो अरे । सुन्ने बित्तिकै तीजमा फक्रिएको कालुकि आमाको मन एक्कासी ओइलायो !!

कौशलटार, भक्तपुर

प्रतिक्रिया दिनुहोस्