देउवा नेतृत्वको सरकारले एमालेलाई गाली गरेर जिविकोपार्जन गरिरहेको अध्यक्ष ओलीको आरोप



काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले एमालेलाई गाली गरेर जिविकोपार्जन गरिरहेको पनि आरोप लगाएका छन् ।
सोमबार युवा संघ नेपालले काठमाडौमा आयोजना गरेको भेला तथा प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारका पालामा ठुलाठुला धाकधक्कु लाउनेहरु नेपाली नागरिक मारिँदा पनि चुइक्क बोल्न नसकेको भन्दै सो आरोप लगाएका हुन्।ओलीले जयसिंह धामी प्रकरण र त्यस क्षेत्रमा भारतीय हेलिकोप्टर उडेको प्रसंगको चर्चा गर्दै सरकार जनता र देशप्रति जिम्मेवार बन्न नसकेको पनि बताए।‘भारत थाहा छैन भन्छ, नेपाल सरकारले थाहा दिन सक्दैन ? नागरिक मारिदा चुइक्क बोल्न सक्दैन ? अनि यहाँ सडकमा लाठी लगाउन खोज्छ युवालाई’, ओलीले भने सरकारको यो भन्दा नालायकी के हुन्छ ? एउटा पार्टीको सरकार भए त बोल्न सकेन भनेर चित्त बुझाउन सकिने भन्दै पाँच पाँच वटा पार्टी हुँदा पनि बोल्न नसक्नु अचम्म भएको बताए ।‘मास्क फुत्त फालेर, आफैले टाँसेको टेप, फिल्मी स्टाइलमा बोल्न पाइन्छ भन्थे–म अहिले तिनीहरुलाई सोध्न चाहान्छु, देश र राष्ट्रियताको बारेमा बोल्न पाइन्छ कि पाइदैन ?’, ओलीले भने,‘अश्लिल छाडा बोलेको छ, तमासा गरेको छ । अनि अहिले किन भन्न सक्दैनन् अपराधका हिस्सेदारहरुले गरेको अपराध ?’

ओलीले नेकपा एमालेलाई केही ससाना झुण्ड मिलेर, जालझेल गरेर लखेट्न खोजेपनि जनता एमालेप्रति आकर्षित भइरहेको पनि बताए । ‘नेकपा एमालेलाई केही ससाना झुण्ड मिलेर, जालझेल गरेर लखेट्न खोज्छन् । सरकारबाट एमाले हटेको छ तर जनता एमालेमा पसेको छ’, ओलीको भनाइ छ । उनले एमाले सरकारमा हुनु र नहुनुमा जनतालाई केही फरक नभएको भन्दै ‘फरक देशलाई पर्ने’ बताए । ‘फरक देशलाई पर्छ, विकासमा पर्छ, राष्ट्रियताको कुरामा फरक पर्छ तर जनताको भरोसामा फरक नपर्ने’ बताए । फाईल फोटो

प्रतिक्रिया दिनुहोस्