मणिपुर हिंसा : संयुक्त राष्ट्रसङ्घमा भारतको आलोचना



एजेन्सी।मणिपुर हिंसालाई लिएर संयुक्त राष्ट्रसङ्घमा भारतको आलोचना भएको छ । संयुक्त राष्ट्रसङ्घका विज्ञहरूले मणिपुरमा भएका हिंसात्मक घटना एवम् अन्य दुर्व्यवहार रोक्नका लागि भारतले गम्भीर भएर काम नगरेको भन्दै केन्द्रीय नेतृत्वको आलोचना गरेका हुन् ।

भारतको उत्तरपूर्वी राज्यमा जातीय द्वन्द्वकाबीच यौन हिंसासहित मानव अधिकार उल्लङ्घनका गम्भीर घटना भएका र तिनलाई नियन्त्रण गर्न तथा दोषीमाथि कारबाही गर्न सरकारले तत्काल तदारुकता नदेखाएको तथा हिंसा रोक्न ढिलो प्रतिकार्य गरेको भन्दै राज्य र केन्द्र सरकारको आलोचना भएको समाचार संस्था एएफपीले जनाएको छ ।

‘मणिपुरमा शारीरिक र यौन हिंसा तथा घृणायुक्त भाषण रोक्नका लागि कानुन कार्यान्वयनमा भारत सरकारका कारबाही समयमा नभएका तथा पीडितले न्याय नपाएकामा हाम्रो गम्भीर चिन्ता र चासो छ’, एक विज्ञप्तिमा भनिएको छ ।

महिला तथा बालिकाविरुद्ध हिंसा र यातनासम्बन्धी २० जना विशेष प्रतिवेदकले मणिपुरमा मे महिनामा झडप शुरु भएदेखि एक सय ६० जनाले ज्यान गुमाएका, तीन सय जना घाइते भएका, दशौँ हजार विस्थापित हुनुपरेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्