फिलिपिन्सले हटायो नेपालसहित १० एसियाली मुलुकबाट यात्रामा लगाएको प्रतिबन्ध



मनिला । अत्यधिक संक्रामक डेल्टा भेरियन्टका कारण कोभिड–१९ संक्रमण दरमा अझै उल्लेख्य नियन्त्रण नभए पनि खोपका कारण संक्रमणको भयावह नभएको निष्कर्षसाथ फिलिपिन्सले सेप्टेम्बर ६ देखि नेपाल, भारत, पाकिस्तानलगायतका १० एसियाली मुलुकलाई लगाउँदै आएको यात्रा प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, थाइल्यान्ड, मलेसिया र इन्डोनेसियामा अहिले कोभिड–१९ को यात्रा प्रतिबन्ध हटाउन अन्तरनिकाय कोभिड–१९ कार्यदलको सिफारिस स्वीकृत गरेका छन् ।

एसियाली यी सबै देशहरूबाट फिलिपिन्स आउने यात्रीहरूका लागि फिलिपिन्सले यात्रा प्रतिबन्ध हटाएको राष्ट्रपतिका प्रवक्ता ह्यारी रोकले शनिबार बताए ।

रोकले भने, “भारत, नेपाल, पाकिस्तानलगायत १० एसियाली देशहरूबाट आउने अन्तर्राष्ट्रिय यात्रीहरूले प्रवेश, परीक्षण र क्वारेन्टिनसम्बन्धी नियमहरू पालना गर्नुपर्नेछ ।”

फिलिपिनी नागरिकका कूटनीतिज्ञ तथा विदेशी जीवनसाथीजस्ता विशेष भिसावहाकहरूबाहेकका प्रतिबन्धित अन्य विदेशी मुलुकका पर्यटकहरूलाई अझै पनि देशभित्र प्रवेश गर्न रोक लगाइएको छ ।

डेल्टा भेरियन्टको स्थानीय संक्रमण फिलिपिन्सका समुदायहरूमा फैलिएको छ । यहाँ एक हजार ७८९ व्यक्तिमा कोभिड–१९ को डेल्टा भेरियन्ट संक्रमण पुष्टि भएको छ । यीमध्ये ३३ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले अझै पनि डेल्टा भेरियन्टको समुदायमा रहेको संक्रमणलाई पुष्टि गर्दै भनेको छ, “यो अहिले फिलिपिन्समा फैलिरहेको प्रमुख कोभिड–१९ को समस्या हो ।”

फिलिपिन्सले भारतलगायत यी मुलुकमाथि अप्रिलदेखि प्रतिबन्ध लगाएको थियो । अहिले फिलिपिन्समा बढ्दो कोभिड–१९ संक्रमणमध्ये डेल्टा भेरियन्ट प्रमुख चुनौती देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्