माप्यदुधकोशी गाउँपालिका अध्यक्ष खुले एमालेमा, सोलुका निर्बाचित सबै जनप्रतिनिधि एकढीक्का

सोलुखुम्बु ।हिमाली जिल्ला सोलुखुम्बुमा नेकपा एमालेका प्रभावशाली नेताहरु एकढीक्का देखिएका छन्।

पूर्बअध्यक्ष आङङिमा लामासहित जिल्ला कमिटीका आधा दर्जन बढी सदस्यहरु माधव कुमार नेपालको नवगठित नेकपा एकीकृत समाजबादीमा समाहित भएको घोषणा गरिए पनि निर्बाचित जनप्रतिनिधिहरुको संख्या सो पार्टीमा शुन्य छ। गत स्थानीय निर्वाचनमा जिल्लाका विभिन्न स्थानीय तहमा निर्बाचित १ सय २५ जना जनप्रतिनिधि एमालेमै क्रियाशील छन्।
एकीकृत समाजवादीलाई साथ दिने ठुलो चर्चा गरिए पनि माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई अन्ततः एमाले जिल्ला कमिटीको आज बसेको १३ औं पूर्ण बैठकमा सहभागी हुनुभएको बताइएको छ । पार्टी अन्तरसंघर्षका क्रममा यसअघि नेपाल समूहलाई साथ दिनुभएका राई समानान्तर कमिटीमा प्रदेश कमिटी सदस्यसमेत रहनु भएको थियो।
तर नेपाल समूहले पार्टी बिभाजन गरेर एकीकृत समाजबादी गठन गरेपछि राई सो समूह त्यागेर एमाले बैठकमा सहभागी भएपछि एकीकृत समाजबादीवालाहरु पुरै निराश हुन पुगेका छन् । राई गत स्थानीय निर्बाचनमा जिल्लाको माप्यदुधकोशी गाउँपालिकाको अध्यक्षमा निर्बाचित हुनुभएको थियो।

