भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या १५६ दिनपछि सबैभन्दा कम




भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या १५६ दिन पछिकै सबैभन्दा कम भएको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा भारतमा २५ हजार ४६७ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

यसैसँगै भारतमा कुल सङ्क्रमितको संख्या तीन करोड २४ लाख ७४ हजार ७७३ जना पुगेको छ । पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितको सङ्ख्या ३० हजारदेखि ४० हजारको बीचमा रहँदै आएकोमा अहिले २५ हजारको हाराहारीमा झरेको मङ्गलबार जनाएको छ ।

दैनिक सङ्क्रमितको सङ्ख्या कम भएपछि भारतका कोरोनाभाइरसको महामारी नियन्त्रण उन्मुख हुदै गएको भन्दै धेरैले सन्तोष र खुशी व्यक्त गरेका छन् ।

मन्त्रालयका अनुसार भारतमा पछिल्लो एक दिनमा ३९ हजार ४८६ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म कोरोना मुक्त सङ्ख्या तीन करोड १७ लाख २० हजार ११२ पुगेको सो मन्त्रालयले जनाएको छ ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने तीन लाख ३३ हजार ९२४ पुगेको अधिकारीले जनाएका छन् । यो सङ्ख्या १५६ दिनपछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल चार लाख ३५ हजार ११० जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । तीमध्ये पछिल्लो २४ घण्टामा ३५४ जनाको मृत्यु भएको हो ।

कोरोना परीक्षण पनि तीव्ररुपमा भइरहेको छ । पछिल्लो एक दिनमा १२ लाख ९५ हजार १६० जनाको परीक्षण गरिएको छ । योसँगै अहिलेसम्म कुल ५० करोड ९३ लाखभन्दा बढीको परीक्षण भएको छ ।

त्यसैगरी भारतमा अहिलेसम्म कुल ६३ करोड ८५ लाख भन्दा बढी डोज कोरोनाभाइरसविरुद्धको खोप लगाइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्