सोलुखुम्बु लोदिङका बक्सिङ खेलाडी छिरिङ एएसबीसी च्याम्पियनसिपको सेमिफाइनलमा



सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ३ लोदिङका बक्सिङ खेलाडी छिरिङ वाङ्दी शेर्पाले युनाइटेड अरब इमिरेटस् (यूएई) मा कुवेतका खेलाडीलाई पराजित गर्दै एएसबीसीको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
यूएईमा भइरहेको (एएसबीसी) एसियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा शेर्पाले आईतबार भएको खेलमा कुवेतका मोहम्मद अलिनेजी मोहम्मदलाई पराजित गरेका हुन् ।

जुनियर इभेन्टतर्फ शेर्पाले कुवेतका मोहम्मदलाई ब्यान्टम ५४ किलोतर्फ क्वार्टर फाइनलमा ५–० अङ्कले हराउँदै सेमिफाइनल प्रवेश गरेका यूएईमा नेपाली टोलीका साथमा रहेका ओलम्पियन एवं प्रशिक्षक डम्बरदत्त भट्टले जानकारी दिएका हुन् ।
प्रतियोगितामा नेपालबाट शेर्पा र स्वस्तिका तिरुवासँगै पुरुषतर्फ ६० किलो तौलमा इन्द्रबहादुर सुनार, ५४ किलोमा सुलभ माली र ७१ किलोमा सुदेन गिरी तथा महिला ५७ किलोमा नारिका राई सहभागी भएका छन् ।

गएको महिना ललितपुरको सातदोबाटोमा सम्पन्न छनोट प्रतियोगिताबाट यूएईमा भाग लिने खेलाडीको छनोट गरिएको हो । प्रतियोगिता आउँदो असोज १५ गतेसम्म सञ्चालन हुनेछ ।

सानै उमेरदेखि खेल क्षेत्रमा रुची राख्ने १६ वर्षीय छिरिङ वाङ्दी कक्षा १० मा अध्ययन रहेको बुवा छिरि शेर्पाले सोलु एफ.एम.लाई जानकारी दिनुभयो । उहाँका अनुसार छिरिङ स्वर्णपदक हात पार्ने लक्ष्यका साथ लागिपरेका छन् ।

साभार सोलु एफएम

 

प्रतिक्रिया दिनुहोस्