संजय राज शर्माका मुक्तकहरु



शृङ्गार रस १
रातभरि बहकिएको बात भयो
साथ हाम्रो चाँदनीको बारात भयो
कसलाई पो थियो शरमको चिन्ता ?
सिंगो रात अतृप्त यौटा मात भयो।

शृङ्गार रस २
महमा घोलेर बोलिरहु ऐ मेरी प्रिय
हेरेर मैंलाई टोलिरहु ऐ मेरी प्रिय
घडीको त्यो सुइ स्थीर होस् बरु संधैलाई
मनका ती कुरा खोलिरहु ऐ मेरी प्रिय !

वीर रस १
नमिच नथिच तेज धार हूँ म
बाघमाथि हमेसा सवार हूँ म
नखेल नजिस्क आगोसंग व्यर्थै
मर्जीको मालिक त्यो प्रहार हूँ म

वीर रस २
खिया परेको खुकुरीमा धार लाउनुछ
खुला सीमाना बन्द हुन्छ बार लाउनुछ
मित्र बनेर लुकाउँछ कोखाभित्र दाह्रा
सारा वेदना कष्टबाट पार लाउनुछ।

करुण रस १
वेदना जति लुकाई मुस्कान छर्ने त्यो
दुःखको नदी सहज ढंगले तर्ने त्यो
साक्षात देवी कतिले चिन्दछ चिन्दैन ?
नाम हो आमा सन्तानका लागि गर्ने त्यो।

करुण रस २
तप्प तप्प आँसु चुहियो दुईथोपा मोतीसरि
विछोडको पल सम्झना बनीछायो आँखाभरि
दुईज्यान प्राण एउटा भन्थ्यौ हरेक भेटमा
एक्लो प्राण मेरो योज्यान सम्हाल हे, दैव हरि !

भयानक रस १
दाह्रा किटेर आँखा लाल पार्दै
जटा परेको केश तल झार्दै
जप्दै अलख निरञ्जन शम्भो
बस्छ चितामा स्वार्थ जति मार्दै !

भयानक रस २
बेस्सरी काम्यो म उभेको धरातल
चराचुरुङ्गी उडिरह्यो जलथल
साक्षात राक्षस सामुन्ने उभिएझैं
सम्झन चाहन्न डरमर्दो त्यो पल।

हास्य रस १
अनेक रंग कोर्दै अनुहारभरि
मुस्कान अलि चोर्दै अनुहारभरि
हसाउँछ ऊ जनता जनार्दन नै
नटुवा त्यो कोपोर्दै अनुहारभरि।

हास्य रस २
स्वर्ग झरेर नेपालमा खसेको रैछ
ओठओठमा त्यो मुस्कान बसेको रैछ
अनायासनै निन्द्राबाट बिउँझे हेरें
दुःख दर्दले सर्पले झैं डसेको रैछ।

रौद्र रस १
पापको घडा जब भर्न थाल्दछ
विनाश मनपरि गर्न थाल्दछ
पर्खाइ मात्र समयको हजूर !
बारुद बनी निर्धा छर्न थाल्दछ

रौद्र रस २
गाउँ शहर उठ्छ अब एकैपटक
धर्ती आकाश छुन्छ जब एकैपटक
लास ठानी कुल्चिएका ती बिउँझिएर
साङ्लो चुँडाई जुट्छ सब एकैपटक

अदभूत रस १
वसन्तमा फूल फूल्दछ किन ?
जवानीमा मन झुल्दछ किन
धेरै प्रश्न यति अनौठो रैछ
भिन्नभिन्न मन घुल्दछ किन ?

अदभूत रस २
छाया बनी तिम्रो अघिपछि हुन्छु म
स्पर्श भई तिमी भित्रभित्र छुन्छु म
सुस्त सुस्त गाऊ प्रेमभाका मुटुमा
संगीत बनेर तिमीसंगै सुन्छु म !

बीभत्स रस १
मुटु अर्पे निष्ठुरीलाई छाती चिरेर
छियाछिया काटेर फ्याँके चक्कु भिरेर
हरदम प्रेमको माला जपी हिंड्छ त्यो
पदचिन्ह सुम्सुम्याउँदै चुम्छ गिरेर ।।

बिभत्स रस २
नाडी काटी रगतले लेखिएको नाम तिम्रो
विश्वासमा पैह्रो खसी जेलिएको खाम तिम्रो
खोजी रहें सोधी रहें भग्नावशेष जगसंग
छाम्दै चिसो तिमीसंगै मेटिएको घाम तिम्रो।

शान्त रस १
रोऊ कराऊ उठ्दैन अब त्यो
छरपस्ट छ सम्पत्ति सब त्यो
दुःख वेदना सुखभन्दा माथि
महा यात्रामा हिंड्दछ जब त्यो ।।

शान्त रस २
चिम्ली आँखाद्वय मनभित्र चिहाएं
अनुभूतिलेनै तनभित्र चिहाएं
दिव्य ज्योतिर्मय अनायास झुल्कियो
यावत् चराचर वनभित्र चिहाएं ।।

प्रतिक्रिया दिनुहोस्