निलाञ्जला भार्द्वाजका मुक्तकहरु



शृङ्गार रस १
घुमाउरो त्यो कुरा गर्दै, कलेजीमै बस्न खोज्छौ
आँखा–आँखा जुधाएर, मुटुभित्र पस्न खोज्छौ
त्यही पुरानो बात गरि, अत्याउँछौ सधैं भरि
भकाएर सिन्दूर पोते, अँगालोमा कस्न खोज्छौ !

शृङ्गार रस २
म प्रतिको उस्को लगाव, चञ्चले आनीबानी देखेर
त्यही बैंसालु यौवनमा, सबको खिंचातानी देखेर
नौनी भई सुटुक्क, खस्न मन छ उस्को पोल्टोमा
प्यासमा सल्किएको, उस्को रापिलो जवानी देखेर !

वीर रस १
कहिल्यै नरोकिने पवन, आकाशमा चन्द्र–सूर्य बल्दासम्म
नसाभित्र एक मुठ्ठी रगत, छातीभित्र ढुकढुकी चल्दासम्म
एक सच्चा सपूतले आफ्नो देशको गरिमा जोगाउने गर्दछ
बनेर निस्प्राण स्वयमको शरीर त्यो, धर्तीमा नढल्दासम्म !

वीर रस २
स्वतन्त्र बन, यी कुसंस्कारका बन्धनहरू तोडेर उड्न सिक
जुझ्न सिक बाधासँग, प्रगतितर्फ पाईला मोडेर उड्न सिक
कति थन्काउँछौ आफ्ना रहर, जालो लागेको सन्दूकभित्र
उड्न सिक ए नारीहरू, अब बन्द पर्खाल फोडेर उड्न सिक !

करुण रस १
विधिको विधान थियो, या यस्तै मेरो कर्म थियो
थियो मनमा असैह्य पीडा, देखाउँ भने शर्म थियो
आकाश थियौ तिमी पुरुष, बर्साइरह्यौ चट्याङहरू
धर्ती थिएँ म नारी, चुपचाप सहनु मेरो धर्म थियो !

करुण रस २
कर गरेर दियौ बाबा उराठ लाग्दो घरबार भयो
मेरो लागि पिँजडा यो तिम्रो लागी दरबार भयो
कहाँ जाउँ कसो गरूँ, मरूँ कि म बाँचुं बाबा
सधैँ रुखो उनको वचन मुटु रेट्ने तरबार भयो !

हाँस्य रस १
छोराछोरी आफ्नै राम्रो, अर्काको बाली राम्रो
भन्न थाले मेरा बुढा, तिमीभन्दा साली राम्रो
लौन बाबा छिटो बिहे गरि पठाउ बहिनीलाई
उमेर पुग्या चेलीको, हुन्न सिउँदो खाली राम्रो !

हाँस्य रस २
उमेरैले कान्छो मोरो भाइ नभन्नू भन्छ
छोरो भनुँ भन्दा पनि नाइ नभन्नू भन्छ
कुन दिनमा बोलेछु हजुर पर्नु फसाद पर्यो
राख्दिन्छु फोन भन्दा’नि बाइ नभन्नू भन्छ !

रौद्र रस १
निर्दोष धैर्यता र, संयमताले साथ छोड्ने छैन
सम्हालेको मनले, आक्रोशको बम फोड्ने छैन
कुल्चिनू मेरो आत्मसम्मान, तबसम्म साहेब
जबसम्म मेरो, सहनशीलताले दम तोड्ने छैन !

रौद्र रस २
अब त अति भयो जुटौं नारी, सुशासनको राज बनाउनुछ
कुशासनको विनाश गरि, यी भ्रष्टहरूलाई लाज बनाउनुछ
रगतको डल्लो कोखमा लिई, मान्छेको जीवन दिने नारीले
चल्लोपनि काखमा हुर्काई,यिनलाई खाने बाज बनाउनुछ !

भयानक रस १
नियति र विवशतामा, चुटिँदाको पीडा के हो
काखबाट प्यारो मुटु, छुटिँदाको पीडा के हो
ती आमालाई सोधी हेर, कहाँ दुख्छ घाउ भनी
आफ्नै सामु जवान छोरी, लुटिँदाको पीडा के हो !

भयानक
दङ्गदास छु एकै मानव शरीरभित्र, लुकेको बहुरूपी देखेर
एउटै धर्तीको काखमा, गन्धे झार कपूर अनि धुपी देखेर
पराईको के कुरा,भयभीत छु अचेल आफ्नै छायाँसँग पनि
हातमा देखाउने मल्हम, बगलिमा दाह्रा किट्ने चुपी देखेर !

अद्भुत रस १
सुगन्ध छरेको देखेर बावरीले, सानो गमलामा उभिएर
एउटा अठोट् गरेँ मैले पनि, मनको फैसलामा उभिएर
अर्काको बुई चढेर दुनियाँ, हेर्दैछौ मित्र तिमी त्यता
तर म हेर्नेछु अब यो दुनिया, आफ्नै पैतलामा उभिएर

अद्भुत रस २
फुर्तीको बोक्रो भित्र खोक्रो, अक्कलको बुङ्गो लागेर
सुरिलो धुन माथिको कलङ्क, नक्कली मुर्चुङ्गो लागेर
यो नभन प्रिया, स्वाभिमानको विशाल शिला हो रे उ
तौलिएरै मैले छोडेको हुँ, सुपारी भन्दा हलुङ्गो लागेर !

विभत्स रस १
निर्धा माथीको अत्याचार, मौलाउँदैछन् व्यभिचार अझै
भन कति गुञ्जाउने हो नारीले, वेदनाका चीत्कार अझै
निरीह आँसु बगाईरहन्छन्, बलिया ताली बजाईरहन्छन्
उफ्फ ! कति बेहोर्छस् ए मानवता, लज्जास्पद हार अझै !

विभत्स रस २
अहङ्कारले पाखुरी खैंचिँन्छ, बलवान् भनिने समयको अगाडि
सत्य पनि डगमगाई दिन्छ यहाँ, सदैव कुटिल भयको अगाडि
म यस्तो तन्त्रको रैती हुँ मित्र, घर खनेर आँगन पुर्छन् नेताहरू
अन्यायले उत्सव मनाइरहेको देख्छु, हाम्रै न्यायालयको अगाडी !

शान्त रस १
टिप्न सक्नुपर्छ, पाइला–पाइलामा छरिएको नै जिन्दगी हो
सुख–दुःखको सङ्गमसँग सम्झौता गरिएको नै जिन्दगी हो
यही मनै त हो दुःख भन्नु, यही मनै हो सुख भन्नू पनि
खोज्नुपर्छ आँसुभित्र पनि, खुशी भरिएको नै जिन्दगी हो !

शान्त रस २
परिपक्व बन्दछ जिन्दगी, जब समस्या हजार आउँछ
चुटिए पो विवशताको हुरीमा, विवेकिको आकार आउँछ
जलपधारि धातुले हो रङ्ग फेर्ने, आँखै सामु खरानी बन्ने
सुनले त जति जल्यो आगोमा, उति झन् निखार आउँछ !

प्रतिक्रिया दिनुहोस्