माओवादी केन्द्र खारेजीको माग गर्दै मुद्दा हाल्ने तयारीमा बादल समूह



काठमाडौं।सत्तारुढ नेकपा एमालेमा रहेका रामबहादुर थापा ‘बादल’सहितका नेताहरुले नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजी मागसहित रिट हाल्ने भएका छन्। माओवादी केन्द्र छाडेर हाल एमालेमा रहेका नेता बादलसहितले भोलि बुधबार नै सर्वोच्च अदालतमा रिट या निर्वाचन आयोगमा निवेदन दिने तयारी गरेका हुन्।

गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएसँगै तत्कालीन नेकपाको पुष्पकमल दाहाल प्रचण्ड समूह छाडेर तत्कालीन केपी शर्मा ओली समूहमा लागेका पूर्व माओवादी नेताहरुले सम्भवत: भोलि नै सर्वोच्च या निर्वाचन आयोगमा निवेदन दर्ता गर्नेछन्।

हाल एमालेमा माओवादीका पूर्व नेताहरु रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी, दावा लामा, मणि थापा र प्रभु साहसहितले रिट हाल्न लागेका हुन्। उनीहरुले माओवादीको वैधानिकतामा प्रश्न उठाउँदै सर्वोच्च अदालत या निर्वाचन आयोग कहाँ जाने भन्ने टुंगो लगाइसकेका छैनन्।

‘हो, रिट हाल्ने तयारी भएको छ। माओवादी केन्द्रको दल दर्ता खारेजी मागसहित हामी सर्वोच्च अदालतमा जाँदैछौँ’, एकजना नेताले भने, ‘संविधानत: अहिले माओवादी केन्द्रले वैधानिकता गुमाइसकेको छ। संविधान अनुसार हरेक ५ वर्षमा दलको महाधिवेशन भइसक्नुपर्छ। तर अझै त्यो भएको छैन। माओवादी केन्द्रको कमिटी पनि वैधानिक छैन। त्यहीकारण हामी सर्वोच्च जाँदैछौँ।’

माओवादी केन्द्रको महाधिवेशन २०७१ जेठमा मकवानपुरको हेटौँडामा गरिएको थियो। त्यसपछि माओवादीले महाधिवेशन गर्नै सकेको छैन। माओवादी नेतृत्वमा पनि करिब ३२ वर्षदेखि पुष्पकमल दाहाल प्रचण्ड नै अनवरत अध्यक्ष रहँदै आएका छन्।

माओवादीले महाधिवेशन तयारी गर्दै गर्दा २०७५ जेठ ३ गते एमालेसँग एकीकरण भएको थियो। यी दुई दल मिलेर बनेको नेकपा २०७७ फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट खारेजीमा परिसकेको छ।

नेकपा खारेज भएपछि तत्कालीन अवस्थामा ओली समूहमा लागेका माओवादीका नेताहरु एमालेमै बसेका थिए। उनीहरुलाई माओवादीमा फर्काउने पटक पटकको प्रयास सफल हुन सकेको थिएन।

प्रतिक्रिया दिनुहोस्