समाधान भयो नेपाल टेलिकमको जीएसएम मोबाइलमा देखिएको समस्या



काठमाडौँ । नेपाल टेलिकमले यसको जीएसएम मोबाइल सेवामा बुधबार आएको समस्या तत्काल समाधान गरेको छ । अप्रत्याशित समस्याका कारण सेवा अवरुद्ध भएको र जानकारी प्राप्त हुनासाथ समस्या समाधानका लागि कम्पनीले तत्काल समस्या समाधान गरेको थियो ।

सेवा अवरुद्ध हुनुको प्राविधिक कारण पत्ता लगाउने कार्यको समानान्तर रुपमा सो समस्या निराकरण गर्ने कार्यलाई प्राथमिकतामा राखेर समस्या समाधान गर्नुका साथै भविष्यमा समेत यस्ता समस्या पहिचानमा सहज हुने नेपाल टेलिकमले उल्लेख गरेको छ ।

सेवामा समस्या आउँदा पनि जीएसएम मोबाइलको टुजी, थ्रीजी, फोजी प्रविधिको डाटा सेवामा समस्या नदेखिएको, कम्पनीले हालै सञ्चालनमा ल्याएको भ्वाइस ओभर लङ्ग टर्म इभोलुसनमा समस्या आएको थिएन । जीएसएम मोबाइलका फ्युचर फोन, साना नन स्मार्ट फोनमा भने समस्या देखिएको थिएन । मुख्यतः स्मार्ट फोन सेटहरुमा भ्वाइस सेवा अवरुद्ध हुन गएकोले समस्याको गहन विश्लेषण गर्ने कार्यलाई निरन्तरता दिइएको नेपाल टेलिकमले उल्लेख गरेको छ ।

कम्पनीका सेवाहरु अवरुद्ध हुन नदिन प्रिभेन्टीभ मेन्टिनेन्स (निराकरणरूपी मर्मत) का कार्यहरु गर्ने गरिएको भएतापनि समस्या आइहालेमा न्यूनतम समयमा सेवा सुचारु गर्न कम्पनी सधैं तत्पर रहिरहने नेपाल टेलिकमको प्रतिवद्धता छ । कम्पनीले अप्रत्याशित समस्याका कारण ग्राहकवर्गलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्