गण्डकी प्रदेशमन्त्री दीपक मनाङेलाई कारबाही गर्न राखेपको माग



काठमाडौं।राष्ट्रिय खेलकुद परिषद्ले गण्डकी प्रदेशका मन्त्री राजीव गुरुङ(दीपक मनाङे)लाई कारबाही गर्न माग गरेको छ ।

राखेपका पदाधिकारीमाथि दिइएको टिप्पणीबारे आपत्ति प्रकट गर्दै राखेपले कारबाही गर्न माग गरेको हो । सोमबार एक विज्ञप्ति निकाल्दै मनाङेले समाजलाई पचाउनै नसक्ने अभिव्यक्ति दिएको टिप्पणी गरेको छ ।

प्रदेश सरकारका पूर्व युवा तथा खेलकुद मन्त्रीसमेत रहेका गुरुङले सञ्चारकर्मीहरूलाई दिएको अन्तर्वार्ता अराजक एवं अशिष्ट भनाइबाट प्रेरित रहेको भन्दै राखेप स्तब्ध भएको विज्ञप्तिमा बताएको छ ।
‘राखेप सदस्य–सचिव रमेशकुमार सिलवालज्यू तथा राखेप सदस्य राजेश गुरुङज्यूको नाम लिएर अत्यन्त अमर्यादित अशोभनीय लाल्छनायुक्त एवं घोर निन्दनीय अभिव्यक्ति सार्वजनिक भएको सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामीले परिकल्पना गरेको प्रजातान्त्रिक एवं सभ्य समाजले पचाउन नसक्ने खालको अभिव्यक्ति एउटा जनप्रतिनिधि एवं माननीय मन्त्रीज्यूबाट बाहिर आउनु आफैंमा खेदजनक छ ।’

निमित्त सदस्य सचिव पुरेन्द्रविक्रम लाखेद्वारा जारी गरिएको विज्ञप्तिमा मन्त्री राजीव गुरुङको अभिव्यक्तिले खेलकुदको अपमान भएको बताउँदै मन्त्रीलाई कानुनबमोजिम कारबाही गर्न माग गरेको छ ।

प्रदेश मन्त्री गुरुङले राखेपका सदस्य राजेश गुरुङ र सदस्य सचिव सिलवाललाई राज्यको सम्पत्ति दुरुपयोग गरेको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्