फिनल्याण्डकी प्रधानमन्त्रीले फिर्ता गरिन् खाना भत्ताको रकम



एजेन्सी । हेलसिन्की: फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले आफ्नो परिवारलाई करतादा सहुलियतमा आउने खाजाको पैसा तिर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

३५ वर्षीया प्रधानमन्त्री मरिनले आफ्नो परिवारको सहुलियतको ब्रेकफस्टको पैसा १४ हजार यूरो राज्य कोषमा बुझाउने भएकी हुन् । उनले डेढ वर्षअघि कार्यालय लिएपछि निवासमा आउने बिहानको खाजा र चिसो खानाको वापत सहुलियत पाएकी थिइन् ।

उक्त सहुलियत वापत उनले राज्यलाई रकम तिर्ने भएकी हुन् । “किनकि खाना भत्ताको सम्बन्धमा खुला रुपमा प्रश्नहरु उठेका छन् । म सम्बन्धित खर्च आफैँ भुक्तान गर्नेछु,” प्रधानमन्त्री सन्ना मरिनले शनिबार भनेकी छन् ।

मंगलबार उनले आफूले भविष्यमा पनि खाना भत्ता नलिने घोषणा गरेकी छन् । “म भविष्यमा पनि खाना भत्ता लिने छैन । यदी यो सुविधा नियम अनुसार नै भए पनि,” उनले भनिन् ।

यस्तै उनले यस्ता खाना भत्ता कानून सम्मत छन् कि छैनन् भन्ने बारे छिट्टै निर्धारण गर्न र कर तिर्न लगाउन पनि अधिकारीहरुलाई बताएकी छन् ।

“मलाई मेरो परिवारको खाना लगायत विषयमा दिन बिताउन भन्दा पनि अरु धेरै जिम्मेवारी छन्” उनले भनिन् । स्थानीय ट्याब्लोइड पत्रिका इलतालेतीले प्रकाशन गरेको रिपोर्ट अनुसार प्रधानमन्त्री सन्नाले केसारान्तास्थित कार्यालयको निवासमा रहँदा प्रतिमहिना ३०० यूरोका दरले बिहानको खानाको भत्ता सरकारसँग दावी गरेकी थिइन् ।

तर उनले प्रधानमन्त्रीको रुपमा आफूले कहिल्यै यस्तो दावी नगरेको र यस्तो निर्णय नगरेको प्रतिक्रिया दिएकी छन् । फिनल्याण्डमा असमानताको झिनो स्तरलाई यहाँको राष्ट्रिय गौरव मानिन्छ । साथै नेताहरुको सादा जीवनशैलीले यहाँको सुशासन सम्भव भएको बताइन्छ ।

२०१९ को डिसेम्बरमा अत्याधिक जनसमर्थनका साथ ३३ वर्षको उमेरमै प्रधानमन्त्रीमा नियुक्त हुँदा सन्ना मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री तथा कम उमेरकी महिला प्रधानमन्त्री थिइन् । उनको गठबन्धन सरकारमा वहुसंख्यक मन्त्री महिला र ३५ वर्ष मुनिका छन् ।

प्रतिक्रिया दिनुहोस्