मैत्रीपुर्ण खेलका लागि इराक जांदै नेपाली फुटबल टोली



काठमाण्डाै । नेपाली फुटबल टोली मैत्रीपूर्ण खेल खेल्न आउँदो हप्ता इराक जाने भएको छ । इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली कतार एअरवेजबाट जेठ ११ गते इराक जान लागेको हो ।

नेपालले यही जेठ १५ गते इराकसँग मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । त्याे खेलपछि नेपाली टोली फिफा विश्वकप छनोट प्रतियोगिता खेल्न इराकबाट कुवेत जाने छ । मैत्रीपूर्ण खेल, विश्वकप छनोट र एसियन कप छनोटका लागि राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मङ्गलवार २३ खेलाडीको घोषणा गर्नुभएको थियो ।

यसअघि गएकाे हप्ता ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी गराइएको थियो । समूह ‘बी’ मा रहेको नेपालले विश्वकप छनोटमा चाइनिज ताइपेई, जोर्डन र अस्ट्रेलियासँग खेल्ने कार्यक्रम रहेको एन्फाले जनाएको छ ।

विश्वकप छनोटमा नेपालले अहिलेसम्म पाँच खेलमा एउटामा जित तथा चार खेलमा हार बेहाेरेकाे छ । नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की, डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास, मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान तथा फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा रहनुभएको छ । नेपाली टोली जेठ २९ गते नेपाल फर्किनेछ ।

प्रतिक्रिया दिनुहोस्