कोरोना भाईरस संक्रमणका कारण क्युकोशिन करातेंका बरिस्ठ प्रशिक्षक बज्राचार्यको निधन



काठमाडौं।नेपाली फुलकन्ट्याक्ट करातेका पहिलो पुस्ताका खेलाडी तथा वरिष्ठ प्रशिक्षक रामजीप्रसाद वज्राचार्यको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । कोरोना संक्रमण देखिएपछि बलम्बुस्थित एपीएफ अस्पतालमा उपचाररत वज्राचार्यको मंगलबार बिहान ११ बजेर ५५ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

६५ वर्षीय वज्राचार्यलाई एक साताअघि घाँटी दुख्ने र ज्वरो आउने समस्या भएपछि गणेशमान स्मृति अस्पतालमा भर्ना गरिएको थियो । उक्त अस्पतालमा परीक्षणपछि कोरोना संक्रमण भएको पत्ता लागेपछि उनको आईसीयूमा उपचार भइरहेको थियो । वज्राचार्यका श्रीमती र छोरासमेत कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा छन् ।

नेपालमा क्योकुसिन करातेको सुरुआतकर्ता जगत गौचनका पहिलो र उत्कृष्ट चेलाका रूपमा वज्राचार्यले २०३८ सालदेखि राष्ट्रिय प्रतियोगिता खेल्न थालेका हुन् । २०३९ सालमा क्योकुसिन कराते राखेपमा दर्ता भएपछि उनको अन्तर्राष्ट्रिय सहभागिताको बाटो खुलेको थियो ।

धरानमा जन्मिएका वज्राचार्यले सन् १९८६ (२०४२) मा जापानमा भएको एसियाली क्योकुसिन करातेमा कांस्य पदक जितेका थिए । अन्य थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि उनले सफलता पाएका छन् । राष्ट्रियस्तरमा उनलाई क्योकुसिन करातेका सर्वकालीन महान खेलाडीका रूपमा चिनिन्छ ।

राष्ट्रिय प्रतियोगितामा उनी आफ्नो तौल समूहमा दुईपल्ट राष्ट्रिय च्याम्पियन बनेका थिए । खेलाडी जीवनपछि उनले क्योकुसिन कराते प्रशिक्षकका रूपमा सक्रिय थिए ।

राष्ट्रिय खेलकुद परिषदमा क्योकुसिन करातेका वरिष्ठ प्रशिक्षकका रूपमा करार नियुक्ति पाएका वज्राचार्य सात वर्षअघि उमेरहदका कारण अनिवार्य अवकाशमा परेका थिए । शारीरिक सुगठनका राष्ट्रिय खेलाडीसमेत रहेका उनी नेपाल फुलकन्ट्याक्ट कराते महासंघका वरिष्ठ उपाध्यक्षसमेत हुन् । उनका श्रीमती, एक छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्