२३,४१,९५४ कित्ता सेयर खोलेको सीइडीबीको आइपिओका लागि झण्डै २ करोडको आवेदन



काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओमा १ करोड ८८ लाख ६४ हजार ३०० कित्ताका लागि आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार आइतबार साँझ ५ बजेसम्ममा १२ लाख ११ हजार ३४० जना आवेदकले उक्त आवेदन दिएका हुन् । कम्पनीले शुक्रबार (वैशाख १७ गते) बाट सर्वसाधारणका लागि २३ लाख ४१ हजार ९५४ कित्ता सेयर खुला गरेको हो । यसआधारमा, हालसम्म सर्वसाधारणले माग भन्दा ८.०५ गुणा बढी आवेदन दिइसकेका छन् ।

सीइडीबीले कुल २५ लाख १८ हजार २३० कित्ता आइपीओमध्ये २% अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५% ले हुने १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएर बाँकी सेयर सर्वसाधारणलाई जारी गरेको हो । यसमा प्रतिकित्ता १०० रुपैयाँका दरले आवेदन दिन पाइनेछ । मागभन्दा बढी आवेदन परिसकेकाले यो आइपीओमा वैशाख २१ गतेसम्म मात्र आवेदन दिन पाइनेछ । यसको बिक्री प्रबन्धक सनराइज क्यापिटल हो ।

लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मरोसेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् । आइपीओ बिक्रीपछि संस्थापक र सर्वसाधारणको सेयर रेसियो ७०ः३० हुनेछ । हाल यसको चुक्ता पुँजी ५८ करोड ७५ लाख ९० हजार छ । आइपीओ बिक्रीपछि भने पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ पुग्नेछ । केयर रेटिङ्स नेपालले सीइडीबी हाइड्रोपावरलाई ‘केयर एनपी डबल बी (आइएस)’ इस्यूअर रेटिङ प्रदान गरेको छ । जसले निष्काशनकर्ता कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको भन्ने जनाउँछ ।

प्रतिक्रिया दिनुहोस्