वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ
काठमाडौं, २७ असोज। वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बागलुङको तमानखोला गाउँपालिका–४ घर भई काठमाडौंको टोखा नगरपालिका–३ बस्ने २२ वर्षीय दीपक श्रीपाली, ललितपुरको महालक्ष्मी नगरपालिका–५ बस्ने ३४ वर्षीया नेहा अधिकारी, पाँचथरको याङवरक गाउँपालिका–६ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ बस्ने ४२ वर्षीय सुमन योङहाङ र चन्द्रागिरि नगरपालिका–६ बस्ने ४२ वर्षीया सुस्मिता नेपाली रहेका छन्।
प्रहरीका अनुसार दीपकले टर्की पठाइदिने भन्दै एक जना पीडितबाट २ लाख ४८ हजार रुपैयाँ, नेहाले बेलायत पठाइदिने भन्दै दुई जना पीडितबाट ६७ लाख रुपैयाँ, सुमनले दक्षिण कोरिया पठाइदिने भन्दै दुई जना पीडितबाट ६ लाख रुपैयाँ र सुस्मिताले बेलायत पठाइदिने भन्दै एक जना पीडितबाट ५ लाख रुपैयाँ लिएको आरोप छ। रकम लिएपछि उनीहरू सम्पर्कविहीन भएको भन्दै पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए।
उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले दीपकलाई शुक्रबार टोखा नगरपालिका–३ बाट, नेहालाई शनिबार काठमाडौं महानगरपालिका–११ बाट, सुमनलाई आइतबार कागेश्वरी मनोहरा नगरपालिका–६ बाट र सुस्मितालाई सोमबार काठमाडौं महानगरपालिका–१७ बाट पक्राउ गरेको हो।
पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।


