सोलु प्रहरीको प्रशंसनीय सक्रियता , ठगी गर्ने चालकमाथि ठाँउको ठाउँ कारबाही,यात्रुको झन्डै १० हजार फिर्ता



सोलुखुम्बु ।कोरोना संक्रमणको दोश्रो लहर शुरु भएसंगै जनस्वास्थ्य सम्बन्धि सचेतना जगाउने काम सुरु गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले संकटको बेला सर्बसाधारणहरुलाई ठगी गर्ने गाडी चालकलाई ठाउँका ठाउँ कारबाही गरेको छ।

काठमाडौंमा निषेधाज्ञा घोषणा भएसंगै घर फर्कनेहरुको चाप बढी रहेका बेला मौकाको फाईदा उठाउंदै सर्बसाधारणहरुबाट तोकिए भन्दा बढी भाडा उठाउने सूमो चालकहरुलाई सोलुदुधकुण्ड नगरपालिकाको पत्ताले र जोरबौद्दमा रोकेर कारबाही गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कबित कट्वालले जानकारी दिनुभयो ।प्रनाउ कट्वालका अनुसार ठगी गर्ने चालकहरुलाई ट्राफिक कारबाही गरिनुका साथै उनीहरूबाट ठगी गरिएको ९ हजार ५ सय रुपैयाँ यात्रुहरूलाई फिर्ता गराइएको थियो।

काठमाडौं- सोलुखुम्बुको यात्रामा रहेका १४ जना यात्रुहरुबाट ना.१ ज. ७३१६, ना. १. ज. ५८७१, ना.१. ज. ४८०४ र ना.१. ज. ५५५५ नम्बरको सुमो गाडीका चालकहरुले तोकिए भन्दा बढी भाडा असुल गरेको पाइएपछि नाकामा परिचालित ट्राफिक जरिवाना गर्नुका साथै रकम फिर्ता गराईको कट्वालले रहस्यखबरलाई जानकारी दिनुभयो । ‘आफू पनि सुरक्षित रहौं,अरुलाइ पनि सुरक्षित बनाउं’ भन्ने अभिप्रायले जिल्ला भरी २७ वटा होल्डिङ सेन्टरमार्फत कोरोनाबिरुद्द सचेतना अभियान सन्चालन गर्नुका साथै चेकजाँचमा समेत कडाई गरिएको वहाँले बताउनुभएको छ।

यहि अभियान अन्तरगत जिल्लाको प्रवेश नाका पत्तालेमा पीपीई सेटसहित एक सिफ्टमा ४ जनाको टोलि निरन्तर परिचालित गरिएको बताउंदै वहाँले भन्नुभयो,- ‘अप्ठेरोमा परेकाहरुलाइ झन संकटमा पार्न खोज्ने गाडी र तिनका चालकलाई हामी कुनै हालतमा छोड्दैनौं।’

कोरोना संक्रमण रोकथाम र नियन्त्रणको उद्देश्यसहित प्रहरीले स्थापना गरेको जिल्ला भरिका होल्डिङ सेण्टरबाट हालसम्म ५ सय ९५ जनालाई सचेत गराईएको जानकारी पनि दिनुभयो। ‘बिना मास्क लापरबाह ढंगले हिंड्ने सर्बसाधारणलाई १० मिनेट होल्डिङ सेण्टरमा राखेर कोरोना संक्रमण र यसबाट जोगिने उपाएबारे सम्झाउने गरेका छौं”-प्रनाउ कट्वालले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्