५२ प्रतिशतले बढे फोरजीका ग्राहक, नेपाल टेलिकमका १८८ प्रतिशतले वृद्धि



मुलुकमा पछिल्लो एक वर्षमा चौथो पुस्ताको (फोरजी) मोबाइल इन्टरनेट चलाउने ग्राहकको संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फोरजी चलाउने ग्राहकको संख्या ७० लाख ९२ हजारभन्दा माथि लागेको छ।

गत वर्ष माघ महिनामा यो संख्या ४६ लाख ६४ हजार थियो। एक वर्षमा ५२ प्रतिशतले वृद्धि हुदै फोरजीका ग्राहक २४ लाख २८ हजार १ सय ४४ ले थपिएका हुन्।

यो वर्ष सबैभन्दा धेरै फोरजी ग्राहक बनाउनेमा नेपाल टेलिकम रहेको छ। उसले यस वर्ष १ सय ८८ प्रतिशतले आफ्ना फोरजीका ग्राहक वृद्धि गरेको छ। टेलिकमले एक वर्षमा १६ लाख ६२ हजार १ सय ८० फोरजीका ग्राहक थपेको छ।

त्यस्तै वृद्धिदरका हिसाबले हेर्दा तेस्रो ठूलो दूरसञ्चार प्रदायक स्मार्ट टेलिकमले पनि आफ्ना फोरजीका ग्राहक २४ प्रतिशतले वृद्धि गरेको छ।

गत वर्षको माघमा स्मार्ट सेलका २ लाख २२ हजार १ सय ४४ फोरजी ग्राहक रहेकोमा यो वर्षको माघसम्म २ लाख ७६ लाख ८ सय २२ पुगेका छन्। एक वर्षमा ५४ हजार ६ सय ७७ ले वृद्धि भएका छन्।

फोरजी इन्टरनेट सेवा दिइरहेको तीन दूरसञ्चार कम्पनीमध्ये सबैभन्दा धेरै ग्राहक भएको दूरसञ्चार कम्पनी भने एनसेल रहेको छ। यसले फोरजीको अनुमति पाएसँगै तीव्ररुपमा ग्राहक बनाइरहेको छ।

एक वर्षमा एनसेलका फोरजी ग्राहक ७ लाख ८० हजारले वृद्धि भएका छन्। २०७६ मा उसका फोरजी ग्राहक ३५ लाख ४५ हजार २ सय ८६ रहेकोमा यस वर्ष ४३ लाख २५ हजार ९ सय ३६ पुर्‍याएको छ।
यस हिसाबले हेर्दा एक वर्षमा एनसेलका फोरजी ग्राहक २२ प्रतिशतले वृद्धि भएका छन्।

नेपालमा फोरजी सेवा सञ्चालनमा आएको तीन वर्ष भएको छ। २०७३/७४ मा फोरजी सेवा सुरुवात भएको थियो। सबैभन्दा पहिला नेपाल टेलिकमले फोरजी सञ्चालनको अनुमति पाएको थियो भने त्यसपछि एनसेल र स्मार्टसेलले अनुमति पाएका हुन्।

२०५६ सालमा टुजीबाट सुरु भएको मोबाइल इन्टरनेट अहिले फोरजीमा पुगेको छ। त्यसैगरी, २०७२/७३ मा थ्रिजी सेवा सुरु भएको थियो।

विश्वमा फाइभजीको परीक्षण भइरहेका बेला नेपालमा पनि सो स्तरको सञ्चार सुविधा कसरी ल्याउन सकिन्छ भनी छलफल सुरु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्