गम्भीर संकटका लागि तयार रहन नागरिकलाई उत्तर कोरियाका नेता किमको अपिल



उत्तर कोरियाका नेता किम जोङ्ग–उनले आफ्ना नागरिकलाई गम्भीर र अप्ठ्यारो संकटका लागि तयार रहन आग्रह गरेका छन् ।

मानव अधिकारवादी संस्थाले उत्तर कोरियामा गम्भीर खाद्य संकट तथा आर्थिक अस्थिरता आउन सक्ने चेतावनी दिएका बेला किमको यस्तो अपिल आएको हो ।

पार्टीको सम्मेलनलाई सम्बोधन गर्दै नेता किमले आउँदै गरेको अवस्थालाई सन् १९९० दशकको गम्भीर भोकमरीसँग तुलना गरेका छन् ।

उत्तर कोरियाले कोरोना भाइरसको महामारीका कारण आफ्ना सीमा बन्द गरेको छ । जसका कारण चीनसँगको व्यापार तथा आयात–निर्यात ठप्प प्रायः छ । चीनसँगको आर्थिक गतिविधि उत्तर कोरियाका लागि ‘लाइफ लाइन’ मानिन्छ ।

परमाणु कार्यक्रमलाई लिएर उत्तर कोरियामाथि अन्तर्राष्ट्रिय रुपमा आर्थिक प्रतिबन्ध लागेका कारण पनि अवस्था थप संकटपूर्ण बनेको हो ।

उत्तर कोरियाका नेताले आफ्नो देशमा गम्भीर संकट रहेको वा आउन लागेको भनेर स्वीकार गर्नु निकै दुर्लभ मानिन्छ । नेता किमले बिहीबार पार्टी कार्यकर्ताहरुलाई अर्को निकै संकटपूर्ण ‘अर्डूअस मार्च’ बाट जोगिनका लागि तयार रहन आग्रह गरेका हुन् ।

उत्तर कोरियामा सन् १९९० दशकको भोकमरीको अवस्थालाई ‘अर्डूअस मार्च’ का रुपमा परिभाषित गरिन्छ ।

त्यसबेला सोभियत युनियनको पतनसँगै उत्तर कोरिया महत्वपूर्ण सहयोगबाट वञ्चित भएको थियो । सो भोकमरीका कारण झण्डै ३० लाख मानिसको ज्यान गएको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्