कोरोना संक्रमण : भारत यूपीमा ८ कक्षासम्मका सबै विद्यालय बन्द



काठमाडौं, २० चैत । भारतकाे उत्तर प्रदेशका ८ कक्षासम्मका सबै विद्यालय ११ अप्रिलसम्मका लागि बन्द गरिएकाे छ। कोरोना संक्रमितको संख्या निकै बढ्न थालेपछि उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले विद्यालय बन्द गर्न निर्देशन दिएका हुन्। उनले याे निर्णय लिनुभन्दा अगाडी काेर-११ टाेलीसँग पनि छलफल गरेका थिए।

यसलाई कडाइका साथ पालना गर्न उनले आग्रह गरेका छन्। लापरवाही गर्नेलाई कडा कारवाही गर्ने चेतावनी पनि उनले दिएका छन्। यसअघि उत्तर प्रदेशमा ४ अप्रिलसम्म विद्यालयहरु बन्द गर्न निर्देशन दिइएको थियो।

यता कोरोनाबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र राज्यको धेरै जिल्लाहरुमा रात्रीकालिन कर्फ्यू र आंशिक प्रतिबन्ध लगाइएको छ। मुख्यमन्त्री उद्धव ठाकरेले राज्य अधिकारीहरूको उच्चस्तरीय बैठक बोलाएका छन्। यस बैठकमा लकडाउन सम्बन्धि छलफल हुने जनाइएकाे छ।

पुणे प्रशासनले शुक्रबारदेखि जिल्लामा बार, होटल, रेष्टुरेन्टहरू ७ दिनसम्म बन्द गर्न आदेश दिएकाे छ। खानाहरुलाई भने होम डेलिभरीलाई अनुमति दिइनेछ।

अन्त्येष्टि र विवाहबाहेक कुनै सार्वजनिक समारोहलाई अनुमति दिइने छैन। अन्त्येष्टि अधिकतम २० व्यक्ति र विवाहमा ५० व्यक्तिले भाग लिन सक्नेछन्। शनिबार बेलुका ७ देखि बिहान ६ सम्म १२ घण्टे कर्फ्यू लागु गरिएकाे छ।

प्रतिक्रिया दिनुहोस्