खानेपानी विरोधमा वडा कार्यालय तालाबन्दी




खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका वडा नं. २ बाकाचोलका बासिन्दाले आफ्नो वडाको पानी अन्यत्र लैजान लागेको विरोधमा वडा कार्यालयमा तालाबन्दी गरेका छन् । साबिकको बाकाचोल गाविस वडा नंं. ३ बिस्खाम खोलाको पानी ऐसेलुखर्क हुँदै माक्पा लैजान वडा अध्यक्ष सन्तबीर तामाङ नै लागेको विरोधमा वडाबासीले विरोध पत्र बुझाउँदै वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

बाकाचोल – बिस्खाम खोलाको खानेपानी अन्यत्र लैजान बन्द गर्नुपर्ने र बादेल – बिस्खाम सडक उपभोक्ता समिति पुनर्गठन नभएसम्म कार्यालयमा लगाएको ताला नखोल्ने वडाबासीले चेतावनी दिएका छन् । वडाका ४०५ जनाको हस्ताक्षर सहित गाउँपालिकाको कार्यालयमा बुझाएको विरोधपत्रमा भनिएको छ ‘बाकाचोल –बिस्खाम खोलाको पानी अन्यत्र नलैजाने लिखित सहमति एवं संघीय संसद विकास कोषबाट बादेल – विस्खाम सडक विस्तार शीर्षकमा आएको १० लाख अनुदान रकमको लागि गोप्य रुपमा गठन गरेको उपभोक्ता समिति खारेज गरी पुनः गठन नगर्दासम्म वडा कार्यालयमा लगाएको ताला नखोल्ने चेतावनी दिन चाहन्छौं ।’ वडा अध्यक्षको क्रियाकलाप विरुद्ध बाकाचोलबासीले यस अघि पनि गत पुस ७ गते वडा कार्यालयमा तालाबन्दी गरेका थिए ।

इलाका प्रहरी कार्यालय, ऐसेलुखर्क, जिल्ला समन्वय समिति खोटाङ र जिल्ला प्रशासन कार्यालय, खोटाङलाई समेत बोद्धार्थ दिएर बुझाएको विरोध पत्रमा वडाबासीलाई दमन गर्ने प्रयास भएमा आम बाकाचोलका जनता गाउँपालिका कार्यालय घेराउ गर्दै आन्दोलनमा उत्रने चेतावनी दिईएको छ ।

विस्खाम खोलाको पानी अन्यत्र लैजान नपाउने माग गर्दै यस अघि नै ऐसेलुखर्क गाउँपालिकाको कार्यालयमा बाकाचोलका बासिन्दाले निवेदन दिएका थिए । त्यस क्रममा गाउँपालिका अध्यक्ष विश्वनाथ निरौला र वडा अध्यक्ष सन्तबीर तामाङले वडाबासीको अनुमति बिना अन्यत्र नलैजाने मौखिक प्रतिबद्धता जनाएका थिए ।

६ सय घरपरिवार अन्धकार हुने, खेतीयोग्य भूमिमा सिँचाईको अभाव
हाल विस्खाम खोलाको पानीबाट लघु जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । उक्त खोलाको पानीबाट निकालिएको जलविद्युतले गर्दा बाकाचोल, बादेल, विस्खाम लगायत गाउँका करिब ६ सय घर घरपरिवारले उज्यालोमा बस्न पाएका छन् ।

यसका साथै विस्खाम खोलाको पानीबाट कयौं हेक्टर खेतीयोग्य भूमि सिंचाई हुँदै आएको छ । बिस्खाम खोलाको पानी ऐसेलुखर्क हुँदै माक्पा लैजाँदा ६ सय घरपरिवार अन्धकारमा बस्नुपर्ने र कयौ खेतीयोग्य भूमि बाँझो रहने बाकाचोलका नन्द तामाङले बताउनुभयो ।

५० लाख निकासा भईसकेको स्थानीयको दाबी
बिस्खाम खोलाको पानी ऐसेलुखर्क हुँदै माक्पा लैजानका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भई लागत रकम मध्येका करिब ५० लाख रुपैयाँ निकासा भईसकेको वडाबासीको दाबी छ ।

बाकाचोलबासीको तर्फबाट जारी गरिएको प्रेस विज्ञप्तीमा भनिएको छ ‘विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) पश्चात झण्डै १७ करोड भन्दा मािथ बजेट आउने देखिन्छ भने ५० लाख हाराहारीमा आएको प्रष्ट छ । साथै यस खानेपानी सञ्चालनका निम्ति पालिका स्तरीय समन्वय समिति समेत गठन गरिसकेको पाइन्छ ।’

कुनै पनि आयोजना सञ्चालन गर्न आयोजना स्थल वरिपरि भोगचलनमा रहेको जग्गा जमिनका साथै आयोजना स्थलको प्राकृतिक स्रोत साधनको प्रयोगको अग्राधिकार स्थानीय जनताकै भएको प्रति वडाबासीले सचेत गराएको छ ।

हेर्नुहोस् बाकाचोलबासीले बुझाएको विरोध पत्र

प्रतिक्रिया दिनुहोस्