गिनिजबुक रेकर्डको तयारीमा ‘गोक्यो रि’ समूह
काठमाडौं,१९ फाल्गुन ।गिनिजबुक वर्ल्ड रेकर्डका लागि विश्वकै उच्च स्थानमा रेकर्ड गरिएको गीत र सोही गीतको भिडियो सार्वजनिक गरिएको छ ।
सो गीत विश्वकै सर्वाधिक अग्लो उचाई (४८१३ मिटर)मा अडियो रेकर्ड तथा भिडियो छाँयांकन गरिएको जनाइएको छ।
मिलन किराँतीको गीत, विक्रम राईको संगीतमा वविना किराँतीले स्वर दिएको गीत सोलुखुम्बुमा अवस्थित गोक्यो ताल क्षेत्रमै रेकर्ड गरिएको हो भने भिडियो छायांकन पनि सोही ठाउँमा गरिएको हो ।
पर्यटन प्रवर्द्धधनको लक्ष्य सहित विश्व रेकर्ड कायम गर्ने ध्येयले विश्वकै उच्च स्थानमा गीत र भिडियो रेकर्ड तथा छायांकन गरिएको प्रोजेक्टका अवधारणाकर्ता तथा पर्यटन व्यवसायी सन्च खालिङले बताए ।
‘रेकर्डिङ सिष्टम गोक्योमै लगेर गीत रेकर्ड गरिएको हो ।’ उनले भने, ‘गीतको रेकर्ड साउण्ड रेकडिष्ट छिरिङ भोटेले गर्नुभएको हो ।’
गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रक्रियामा रहेको यो गीत र भिडियो निर्माणमा ४ जनाको सहकार्य रहेको निर्माता राजन खरेलले बताए । पर्यटन व्यवसायीद्वय सन्च खालिङ (सोलुखुम्बु–काँकु), लक्ष्मण कार्की (सोलुखुम्बु–सोताङ) र पावल राई ( म्यूजिसियन)निर्माताको रुपमा रहेका छन् ।
दुलर्भ जन्तरे(सोलुखुम्बु–सोताङ)को निर्देशनमा तयार भएको गीत र भिडियो निर्माणमा हालसम्म करिब २० लाख खर्च भइसकेको निर्माण समूहले जनाएको छ ।