बीएण्डसीलाइ एमबीबीएस अनुमति दिए दु:खद परिणाम आउने कांग्रेसको चेतावनी



काठमाडौं,१८ फाल्गुन । नेपाली कांग्रेसले झापास्थित प्रस्तावित बीएण्डसी मेडिकल कलेजलाई एमबीबीएस शिक्षण अनुमति दिन लागिएको प्रति आपत्ति जनाएको छ।

कांग्रेसको शिक्षा विभागका सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर आपत्ति जनाएका हुन्। उनले कामचलाउ सरकारका शिक्षामन्त्रीको ठाडो निर्देशनमा ऐननियम तथा विभिन्न समयमा गरेका सम्झौताविपरीत विश्वविद्यालयको स्वायत्ततामाथि नै हस्तक्षेप गर्दै राजनीतिक दबाब सिर्जना नगर्न भनेका छन्।

‘कामचलाउ सरकारका शिक्षामन्त्रीको ठाडो निर्देशनमा झापास्थित प्रस्तावित बीएण्डसी कलेजलाई एमबीबीएसको सम्बन्धन दिने काठमाडौं विश्वविद्यालय सभाको निर्णयप्रति नेपाली कांग्रेस शिक्षा विभागको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार आफैंले बनाएको ऐन, नियम तथा विभिन्न समयमा गरेका सम्झौताविपरीत बारम्बार यस्ता हस्तक्षेपका कार्य गर्नु खेदजनक र आपत्तिको कुरा हो। शिक्षामन्त्री स्वयंले प्रक्रिया मिचेर विश्वविद्यालयको स्वायत्ततामाथि हस्तक्षेप गर्दै राजनीतिक दबाब सिर्जना नगर्न नेपाली कांग्रेस शिक्षा विभाग सचेत गराउँदछ। अन्यथा यसको परिणाम दुःखद हुने जानकारी गराइन्छ।’

केही दिन अघिमात्रै काठमाडौं विश्वविद्यालयको सभाले सो कलेजलाई एमबीबीएस अध्यापन अनुमतिको लागि चिकित्सा शिक्षा आयोगमा सिफारिस गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्