खुला पुरुष ब्याडमिन्टनको उपाधि पेम्बा र ग्याल्जेको जोडीलाई



सोलुखुम्बु । खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि पेम्बा शेर्पा र ग्याल्जे शेर्पाले हातपार्नु भएको छ । सल्लेरीस्थित शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा अर्जुन श्रेष्ठ र बिपिन खालिङ राईको जोडीलाई पराजित गर्दै नेपाने युवा क्लवमा आबद्ध पेम्बा र ग्याल्जेको जोडीले नगद २० हजारका साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नुभएको छ ।

३० टिमको सहभागिता रहेको प्रतियोगितामा दोश्रो स्थान प्राप्त गर्ने अर्जुन र विपिनको जोडीलाई १५ हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । यस्तै तेश्रो स्थान प्राप्त गर्न सफल रघु खनाल र छिरिङ तामाङको जोडी र अर्जुन मगर र दावा शेर्पाको जोडीलाई १० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।

प्रथम स्थान प्राप्त गर्न सफल भएका पेम्बा र ग्याल्जेको जोडीमध्ये पेम्बा राष्ट्रिय स्तरका विभिन्न प्रतियोगिताहरुमा समेत विजयी बन्न सफल भएकाछन् । पेम्बा प्रतियोगिताको उत्कृष्ट खेलाडी समेत घोषित हुन सफल भए ।

शुक्रबार शुरु भएको प्रतियोगितामा विजेतालाई सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीले पुरस्कार वितरण गर्नुभएको थियो । समापनका क्रममा प्रतियोगिताका सहयोगी व्यक्ति तथा संघसंस्थालाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

बित्तिय कर्मचारी मञ्चको आयोजनामा भएको प्रतियोगितालाई आयोजकले सोलुखुम्बुको सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगिता बताएको छ । पछिल्लो समय सोलुखुम्बुमा ब्याडमिन्टन खेल्ने खेलाडीहरुको संख्या बढ्दै गएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्