जिल्ला र गाउँको बिकासका लागि सोलुखुम्बुका जनप्रतिनिधिको सक्रियता लोभलाग्दो छ : मुख्यमन्त्री राइ



खगिन्द्रराज बास्तोला
सोलुखुम्बु,९ मंसिर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सोलुखुम्बुका जनप्रतिनिधिहरु जिल्ला र गाउँको बिकासका लागि अत्यन्तै चिन्तित र सक्रिय रहेको आफुले पाएको बताएका छन् । जिल्लाको माप्य दुधकोशी र खुम्बु पासाङल्हामू गाउँपालिका जोड्ने ओर्लाङघाट मोटरेबल पुलको उद्घाटन उद्घाटनपछि जुभिङ माबिको प्रांगणमा आयोजित सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राइले सो कुरा बताएका हुन।

सोलुखुम्बुबाट निर्बाचित संघीय र प्रदेशसभा सदस्यका साथै गाउँपालिका अध्यक्षहरु कुनै न कुनै बिकासको काम लिएर हामीलाई भेटिरहनुहुन्छ,घच्घच्याइ रहनुहुन्छ मुख्यमन्त्री राइले भने-‘वहाँहरुको यहि सक्रियताका कारण सोलुखुम्बुमा अभूतपूर्व रुपमा बिकासले गति लिएको छ।’

दुधकोशी नदीको ओर्लाङघाटमा निर्मित माप्य- खुम्बु मितेरी पुलले सोलुखुम्बुको मात्र नभएर देशकै समृद्धिको ढोका खुलेको मुख्यमन्त्री राइको भनाइ थियो। उनले प्रस्तावित लागत मूल्यभन्दा थोरै लगानी र अत्यन्तै छोटो समयमा निर्माण सम्पन्न भएको यो पुल देशकै लागी उदाहरणीय भएको बताए।यो पनि जनप्रतिनिधिहरुको सक्रियताकै परिणाम भएको बताउंदै राइले भने,- यहाँका दुबै गाउँपालिकाको प्रस्तावमा प्रदेश सरकारले यो पुल निर्माणमा सहयोग गरेको हो।’

पुल निर्माणका सुत्राधार खुम्बु पासाङल्हामु गाउंपालिकाका अध्यक्ष स्वर्गीय ङिमदोर्जी शेर्पाको स्मरण गर्दै उनले थामडांडासम्म पुगेको मोटर बाटोलाई सगरमाथाको आधार शिबिरसम्म पुर्‍याउन सके उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।प्रदेश सरकार स्वर्गीय शेर्पाको सपना पूरा गर्ने कुरामा गम्भीर रहेको बताउंदै मुख्यमन्त्री राइले बांकी रहेको सडकको ट्र्याक ओपन कार्यका लागि आर्थिक सहयोगको प्रतिबद्धता जनाएका थिए।

माप्य-खुम्बु मितेरी पुलले माप्य दुधकोशी र खुम्बु पासाङल्हामु गाउँपालिकालाई मात्रै नजोडेर ससारलाई जोड्ने भएकाले पर्यटकको आगमनमा बृद्धि हुने विश्वास व्यक्त गर्दै राइले झापाको केचनाकवलदेखि सगरमाथाको आधार शिबिरसम्म मोटरबाटोले जोड्ने प्रदेश सरकारको योजना रहेको सुनाए।

५५ टन क्षमताको ४८ मिटर लामो उक्त पुल खुम्बु पासाङल्हामु र माप्य दुधकोशी गाउँपालिकाको साथमा प्रदेश १ सरकार र संघीय सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको हो । पुल ७ करोड २९ लाख ९७ हजार दुई सँग रुपैयाँको लागतमा जलप नेपालले निर्माण गरेको हो।

कार्यक्रममा संघीय सांसद हेमकुमार राई सुरवीरले विकासमा सबैको हातेमालो आवश्यक रहेको भन्दै एउटै पुल उद्घाटन गर्दा विपक्षी आत्तिनु आवश्यक नरहेको बताए । उनले आधा दर्जन मोटरेबल पुल निर्माणको प्रक्रियामा रहेको भन्दै भ्रम छरेर विकास नरोकिने बताए ।

उद्घाटन कार्यक्रममा प्रदेश १ का अर्थमन्त्री इन्द्रबहादुर आङबोले मुख्यमन्त्रीले परिकल्पना गरेबमोजिम केचनादेखि सगरमाथा जोड्ने सडक प्राथमिकताका साथ अघि बढेको बताए । निर्माणाधिन निमदोर्जी शेर्पा पर्यटन सडक निर्माण सम्पन्न गर्दा स्व. निमदोर्जी शेर्पाप्रति सच्चा सम्मान हुने बताए । उनले जनयुद्धकालमा सोलुखुम्बुको अधिकांश भुभाग पुगेको स्मरण गर्दै आङबोले सोलुखुम्बुको विकासका लागि आफ्नो तर्फवाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेकपा प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले दुरगामी महत्व बोकेको मितेरी पुल विभिन्न चुनौतिका बाबजुध छोटो समयमा निर्माण सम्पन्न गराउन सफल भएको बताए । उनले सामाजिक सञ्जाल मार्फत भ्रम छर्नुको साटो यथार्थ बुझ्न विपक्षीलाई आग्रह गर्दै मुख्यमन्त्री र अर्थमन्त्रीको आगमनले भुगोलको बारेमा थप जानकारी भई जिल्लाले फाइदा लिनसक्ने बताए ।

प्रदेश सांसद उत्तम बस्नेतले आन्तरिक तथा बाह्य पर्यटनलाई मितेरी पुल निर्माणले सकारात्मक असर पुर्याउने बताए । माप्यदुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख वीरकुमार राई, खुम्बु पासाङल्हामु गाउँपालिकाका कार्यवाहक अध्यक्ष टासील्हमु शेर्पा, नेकपा सोलुखुम्बुका अध्यक्ष मानवीर राई र सचिव गोम्बु शेर्पाले मितेरी पुलले सोलुखुम्बुको विकासमा सघाउ पुर्याउने बताए ।

प्रतिक्रिया दिनुहोस्