आइफोन-१२ प्रो र प्रो म्याक्समा के छन् फिचर?



एजेन्सी। आइफोन-१२ मिनी, आइफोन-१२, आइफोन-१२ प्रो र आइफोन-१२ प्रो म्याक्स गरी चारवटा मोडल आइफोनका अहिलेसम्मकै ठूला उपकरणमध्ये मानिएको छ। यी सबै मोडलमा ५ जी नेटवर्कको सुविधा छ जुन आइफोनमा पहिलो पटक आएको हो। यसमध्ये आइफोन-१२ मिनी हाल बजारमा सस्तो प्रिमियम ५जी फोन बन्न सफल भएको सञ्चारमाध्यमहरूले लेखेका छन्।

आइफोन-१२ प्रो मा ६.१ इन्च डिस्प्ले छ। यसको पछाडि तीन वटा क्यामरा छन्। यसमा जसमा लिडार, एआर र लो–लाइट अटोफोकसको फिचर समावेश गरिएको छ। यसबाट प्रयोगकर्ताले कुनै पनि वस्तु क्यामराबाट नै स्क्यान गर्न सक्छन् र फोटोहरू स्पष्ट आउँछ।

यसमा रहेको ५जी नेटवर्क सुविधामार्फत प्रयोगकर्ताले भिडिओहरू छिटो डाउनलोड र अपलोड गर्न सक्नेछन्। उच्च गुणस्तरको भिडिओ हेर्न सक्ने, गेम खेल्न अझ सहज हुने, हाइ डेफिनेसन फेसटाइम जस्ता सुधार पनि यसमा समेटिएको छ।  यो आइफोन ‘सेरामिक शिल्ड’ प्रविधिको ग्लास प्रयोग गरेर बनाइएको हो। त्यसैले यो अन्य स्मार्टफोन भन्दा चार गुणा बलियो हुने कम्पनीको दावी छ।

आइफोन-१२ प्रोको अर्को विशेषता भनेको यो वाटरप्रुफ छ। ६ मिटर गहिरो पानीमा करिब ३० मिनेटसम्म डुब्दा पनि फोन नबिग्रिने कम्पनीले उल्लेख गरेको छ। कफी, सोडा वा अरू पेय पदार्थ पोखिए पनि फोनमा कुनै असर नपर्ने कम्पनीको भनाइ छ। यो मोडलमा स्मार्ट डाटा मोड फिचर पनि छ जसले मोबाइल डाटाको उपयोग, गति र समय सन्तुलन गरेर ब्याट्रीको पावर चाँडै घट्न दिँदैन।

आइफोन १२ प्रोका मोडलमा प्रयोग हुने चार्जरका लागि एप्पलले विशेष ध्यान दिएको छ। चाँडो र सुरक्षित चार्जिङको लागि आइफोनमा पहिलो पटक ‘म्यागसेफ’ प्रविधि प्रयोग भएको छ। आइफोन र एप्पल घडीको लागि म्यागसेफ चार्जर र म्यागसेफ डुओ चार्जर समावेश गरिएको छ।

यी सबै फिचरका बावजुद आइफोन-१२ प्रो वातावरणलाई समेत ध्यानमा राखेर बनाइएको कम्पनीको भनाइ छ। मोडलका नयाँ क्यामरा र म्यागसेफमा प्रयोग भएका चुम्ब पृथ्वीका दुर्लभ तत्वलाई रिसाइकल गरेर बनाइएको हो।

आइफोन १२-प्रो म्याक्स ६.७ इन्च डिस्प्लेको साथ आउने छ। यो हालसम्मकै ठूलो आइफोन हो। यो मोडलले सबैभन्दा उच्च रिजोलुसन दिने बताइएको छ। यसमा पनि तीन वटा क्यामरा छन् जसका फिचर आइफोन १२ प्रोकै जस्ता छन्।

यसमा रहेको टेलिफोटो लेन्सले भने फोटो पाँच गुना नजिक जुम गर्न सकिन्छ। यसले फोटो अझ राम्रो र स्पष्ट देखिनेछ। यो पनि १२८ जिबी, २५६ जिबी र ५१२ जिबी स्टोरेजका साथ आउनेछ।

आइफोन-१२ प्रो र आइफोन-१२ प्रो म्याक्स महँगा फोन हुन्। आइफोन-१२ प्रो र आइफोन-१२ प्रो म्याक्सको मूल्य क्रमशः ९ सय ९९ अमेरिकी डलर तथा १ हजार ९९ डलरबाट सुरू हुनेछ। यसको मूल्य नेपाली बजारमा आउँदा केही बढी हुनेछ।

प्रतिक्रिया दिनुहोस्