थुलुङ दुधकोशीको अर्को नयाँ कार्यक्रम, २४ घरमा होम स्टे सन्चालन गरिने



सोलुखुम्बु , ६ असोज । केही न केही नयाँ कार्यक्रम अघि सारेर जिल्लाका अन्य स्थानीय तहका प्रमुखमध्ये आफुलाइ बेग्लै ढंगले स्थापित गर्न सफल थुलुङदुधकोशी गाउँपालिकाका अध्यक्ष अशिम राइले फेरि अर्को नयाँ कार्यक्रम अघि सारेका छन।

स्थानीय तहबाट औपचारिक रूपमा निर्णय गरेर सो गाउँपालिकाले पछिल्लो पटक अघि सारेको नयाँ कार्यक्रम हो- होम स्टे अर्थात बासघर निर्माण । गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन गरि अर्थतन्त्रलाइ चलायमान बनाउन सो कार्यक्रम अघि सारिएको अध्यक्ष राइले रहस्य खबरलाइ बताए ।

स्थानीय मौलिक परम्परा , संस्कार संस्कृति, भेषभुषा , रहनसहन तथा खानपिनको संरक्षण गर्दै बासघर सन्चालनका लागि हाललाई २४ घर छनौट गरिएको राइले बताए।अध्यक्ष राइका अनुसार छनौटमा परेका २४ घरलाई हाल पाहुना कक्षा , करेसाबारी , शौचालय , खानेपानी जस्ता आधारभूत आवश्यकताकाे निर्माण र ब्यबस्थापनका लागि प्रति घर र ४५ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।

छनौटमा परेका घरहरुलाई स्याङ्जाको शिरुवारी तथा लमजुङको घले गाउँमा रहेका घरबासको अध्ययन र अवलोकन भ्रमणका लागि लैजाने कार्यक्रम समेत गाउँपालिकाले बनाएको छ।त्यसका लागि स्थानीय समाजसेवी एबम गाउँपालिकाका जग्गादाता बलराम गुरुङले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष राइले बताए ।

अध्यक्ष राइले घरबास निर्माण सन्चालनका लागि छनौटमा परेकाहरूलाइ बधाई दिंदै सफल र प्रभावकारी सन्चालनका लागि शुभकामना पनि दिएका छन।

प्रतिक्रिया दिनुहोस्