नेपालमा थप तीन जनाको कोरोना संक्रमणबाट मृत्यु



काठमाडौं २७ असार । कोरोनाको संक्रमणबाट नेपालमा थप तीन जनाको मृत्यु भएको छ । काठमाडौंमा २ जना र सिन्धुपाल्चोकमा एक जना गरी तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं महानगरपालिका १० संखमुलका ६० वर्षका पुरुषको असार २६ गते मृत्यु भएको हो। फोक्सोमा पानी जमेको र मिर्गौला रोगको कारण असार १६ गते पाटन अस्पताल भर्ना भएको ती पुरुषमा १७ गते स्वाब संकलन गरी परीक्षण गर्दा पोजेटिभ देखिएको थियो।
यस्तै काठमाडौंकै गोकर्णेश्वर नगरपालिका ४ का ५४ वर्षका पुरुषको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको उनले बताए। मिर्गौलाका बिरामी ती पुरुषको २५ गते निधन भएको हो। असार १९ गते ती पुरुष अस्पताल भर्ना भएका थिए। २१ गते स्वाबको नमुना संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो।
यस्तै, सिन्धुपाल्चोक पाँचपोखरी ६ का ४५ पुरुषको पनि २५ गते नै निधन भएको छ। असार १८ गते क्षयरोगको उपचारका लागि पाटन अस्पताल भर्ना भएका उनीमा २२ गते कोरोना पुष्टि भएको थियो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्